सहलगानीका बाह्र खानेपानी आयोजना

Enepal Patra Pvt. Ltd. , १००८  पटक हेरिएको

काठमाडौँ, १५ माघ । सरकार र स्थानीय जनताको साझेदारीमा १२ सहलगानी खानेपानी आयोजना सम्पन्न भएको छ । सरकारले नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यअनुसार ति खानेपानी आयोजना निर्माण गरेको हो ।

आर्थिक वर्ष २०६९÷७० देखि थालिएको सहलगानी खानेपानी आयोजना ७० प्रतिशत सरकार र ३० प्रतिशत स्थानीय जनसमूदायको लगानीमा निर्माण गरिएको हो । यस्तै ३९ खानेपानी आयोजना निर्माणाधीन अवस्थामा छन् । तीन वर्षमा ति आयोजना सम्पन्न गरिसक्नुपर्नेछ । खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत रहेको सहलगानी खानेपानी आयोजनाका प्रमुख प्रदीप मुडवरी १२ आयोजनाबाट तीन लाख २४ हजार व्यक्ति लाभान्वित भएको बताउनुहुन्छ ।

“सरकार र स्थानीयको सहभागिता रहने हुँदा समयमा आयोजना सम्पन्न गर्न सहज हुन्छ”, उहाँ भन्नुहुन्छ । सम्पन्न भएका आयोजनामा आनन्दवन शङ्करनगर खानेपानी आयोजना रुपन्देही, शङ्करनगर खानेपानी आयोजना रुपन्देही, चेपेखोला खानेपानी आयोजना गोरखा, अमरापुरी खानेपानी आयोजना नवलपरासी, मानगढ खानेपानी आयोजना मोरङ, उर्लाबारी खानेपानी आयोजना मोरङ र चन्द्रगढी खानेपानी आयोजना झापा रहेका छन् ।

यस्तै प्रगतिनगर पश्चिम कालीकानगर खानेपानी आयोजना रुपन्देही, नयाँगाउँ खानेपानी आयोजना रुपन्देही, धनगढा खानेपानी आयोजना चितवन, रत्ननगर नयाँगाउँ खानेपानी आयोजना चितवन र पर्सा नयाँगाउँ खानेपानी आयोजना चितवन सम्पन्न भएको छ । प्रत्येक खानेपानी आयोजना रु एक करोडभन्दा बढी लगानीका हुन् । विभागका सूचना अधिकारी रत्नप्रसाद लामिछाने सहलगानीका ठूला आयोजना केन्द्रले सञ्चालन गरे पनि केही आयोजनालाई प्रदेशस्तरबाटै सम्पन्न गर्नका लागि विभागले अनुमति दिइसकेको बताउनुहुन्छ ।

सर्रा सहलगानी खानेपानी आयोजना दाङ, बस्तीपुर सहलगानी खानेपानी आयोजना मकवानपुर, पाटन नयाँ शहर वृहद सहलगानी खानेपानी आयोजना बैतडी, ओखलढुङ्गा सहलगानी खानेपानी आयोजना ओखलढुङ्गा, लेखनाथ दोस्रो सहलगानी खानेपानी आयोजना कास्की, खानीखोला सहलगानी खानेपानी आयोजना धादिङ, रुकुमकोट सहलगानी खानेपानी आयोजना रुकुुम, किमडाँडा सहलगानी खानेपानी आयोजना अर्घाखाँची र शान्तिपुर सहलगानी खानेपानी आयोजना गुल्मीलाई प्रदेश तहमा हस्तान्तरण गरिएको छ ।

सहलगानी आयोजनाअन्तर्गत हिमाली क्षेत्रमा अधिकतम पाँच हजार, पहाडी क्षेत्रमा १० हजार र तराई क्षेत्रमा ३० हजार जनसङ्ख्या हुनु पर्छ । सरकारले १० सुख्खा क्षेत्रमा वृहत् खानेपानी आयोजना निर्माण थालेको छ । विभिन्न समयमा सरकारले सुख्खा क्षेत्र घोषणा गरिएका गाउँबस्तीलाई आधार मानेर वृहत् खानेपानी आयोजना निर्माण थालेको हो । निर्माण हुनलागेका सुख्खा क्षेत्र आयोजनामा यशोक वृहत पम्पिङ खानेपानी आयोजना पाँचथर, आङ्ना मौवा वृहत पम्पिङ खानेपानी आयोजना पाँचथर, हलेसी क्षेत्र वृहत् पम्पिङ खानेपानी आयोजना खोटाङ, तिमाल वृहत् सुख्खा क्षेत्र खानेपानी आयोजना काभ्रेपलाञ्चोक र चौँरीखोला ढोकाडाँडा वृहत् पम्पिङ खानेपानी आयोजना काभ्रेपलाञ्चोक छन् ।

यस्तै पकरवास वृहत् पम्पिङ खानेपानी आयोजना रामेछाप, दरौँदी गोरखा वृहत् पम्पिङ खानेपानी आयोजना गोरखा, तानसेन कालीगण्डकी वृहत् खानेपानी आयोजना पाल्पा, विजेश्वरी चौरजहारी वृहत् पम्पिङ खानेपानी आयोजना रुकुम र हर्रे टुनिबोटे डुँडेखोला वृहत् खानेपानी आयोजना सिन्धुपाल्चोक निर्माण गरिँदै छ । काठमाडौँका बासिन्दालाई भने शुद्ध खानेपानी उपलब्ध गराउन सरकारले मेलम्ची खानेपानी आयोजना निर्माण गरिरहेको छ । रासस

प्रकाशित मिति: २०१९-०१-२९ , समय : ११:१२:१० , ५ वर्ष अगाडि