काङ्ग्रेसले दियो १५० परिवारलाई राहत

Enepal Patra Pvt. Ltd. , २६४४  पटक हेरिएको

कानेपोखरी, ५ बैशाख । नेपाली काङ्ग्रेस कानेपोखरी गाउँ कार्य समितिले शुक्रबार वडा नं ७ का १५० विपन्न परिवारलाई राहत वितरण गरेको छ । कोरोना भाइरस फैलिन नदिन सरकारले पुरै दशमा लकडाउन घोषणा गरेको छ । विषम परिस्थितिमा विपन्न परिवार भोकै नहुन भनेर काङ्ग्रेसले राहत वितरण गरेको कानेपोखरी काङ्ग्रेसका सभापति योगेन्द्र दाहालले बताउनु भयो ।
गाउँ कार्यसमितिले वडाको सबैभन्दा पूर्वको प्रोग्रेसिभ टोलबाट सुरु गरेको राहत वितरण कार्यक्रम २५ विघे, शुक्रबारे हुँदै ४० विघेमा पुगेर समाप्त भएको थियो । प्रोग्रेसिभ टोलमा नेपाली काङ्ग्रेसका नेता एवं प्रदेश सभा सदस्य लोकप्रसाद संग्रौलाले विश्व नै कोरोना भाइरसको महामारीबाट पीडित भइरहेको बेला विपन्न र दैनिक ज्यालामजदुरी गरेर खाने परिवारलाई पार्टीको तर्फबाट सहयोग गरेको बताउनु भयो । सरकारले तयार गरेको मापदण्ड अनुसार सामाजिक दुरी कायम गरी काङ्ग्रेसले राहत वितरण गरेको हो । राहत वितरण समारोहमा काङ्ग्रेस महासमिति सदस्य एवं प्रदेश सभा सदस्य शेखरचन्द्र थापा, काङ्ग्रेस महासमिति सदस्यहरू केशव निरौला, सुनील शर्मा,नगेन्द्र जमरकट्टेल,ललित श्रेष्ठ र जयराज संयोक लगायतको उपस्थिति रहेको थियो ।
नेपाली काङ्ग्रेसको कानेपोखरी ७ नं. वडा सभापति रत्नबहादुर भुजेल, गाउँ कार्य समिति सदस्य लीलाबहादुर श्रेष्ठ र अमृत चेम्जोङले टोल समितिका सभापतिहरूसँग समन्वय गरी वडाका विपन्नहरूको पहिचान गर्नु भएको थियो । राहतमा १५ किलो चामल ,१ किलो नुन, १ किलो दाल आधा लिटर तेल र एउटा सावुन दिइएको छ । राहत वितरण कार्यक्रम अन्तरगत शनिवार वडा नं. ४ मा राहत वितरण गरिने कानेपोखरी सभापति योगेन्द्र दाहालले बताउनु भयो ।
कानेपोखरी गाउँपालिकासँग समन्वय गरी राहत वितरण गरिएको सभापति दाहालको भनाई छ ।

                                                         काङ्ग्रेसले किन ग¥यो राहत वितरण
नोवेल शिक्षण अस्पताल विराटनगरका सञ्चालक एवं काङ्ग्रेस नेता डाक्टर सुनील शर्माले कानेपोखरी गाउँपालिकालाई ५ लाख रुपियाँ राहत प्रदान गर्ने कार्यक्रम थियो । गत चैत २७ गते बेलबारी नगरपालिकाको सभाहलमा राखिएको कार्यक्रममा कानेपोखरी गाउँपालिका अनुपस्थित भएपछि शर्माले उक्त रकम त्यहाँ उपस्थित सुन्दरहरैचा, बेलबारी र पथरीशनिश्चरेका नगर प्रमुखहरूलाई थपेर प्रदान गर्नुभयो । गाउँपालिकाले राहत लिन अस्विकार गरेपछि सामाजिक सञ्जालमा गाउँपालिका प्रति विभिन्न टिप्पणी भएको थियो भने काङ्ग्रेसले आफ्ना नेताले दिएको राहत अस्विकार गरेको भन्दै गाउँपालिकाको निर्णय प्रति खेद प्रकट गरेको थियो । विषम परिस्थितिमा काङ्ग्रेस र गाउँपालिका बीच दरार उत्पन्न भएपछि सामाजिक सञ्जाल नै रङ्गीएको थियो । २ दिन अघि गाउँपालिकाले काङ्ग्रेसको आफै राहत वितरण गर्ने प्रस्ताव स्वीकारे पछि औपचारिक रुपमा राहत वितरण कार्यक्रम सुरु भएको काङ्ग्रेस क्षेत्रीय सदस्य सन्तोष फुयलले बताउनु भयो ।

प्रकाशित मिति: २०२०-०४-१७ , समय : २२:२१:५३ , ४ वर्ष अगाडि