कोरोनाको संक्रमण फैलिन नदिन कानेपोखरी गाउँपालिका सक्रिय

Enepal Patra Pvt. Ltd. , १८५६  पटक हेरिएको

कानेपोखरी,२५ चैत । कोरोना संक्रमणबाट विश्व प्रभावित भइरहेको बेला मोरङको कानेपोखरी गाउँपालिकाले समेत संक्रमण फैलिन नदिन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । दैनिक रोजगारी गरी साँझ चामल किनेर खाने परिवारको पहिचान गरी त्यस्ता परिवारलाई राहत दिने कार्यक्रम समेत गाउँपालिकाले सुरु गरेको छ । त्यसका लागि विपन्न र अति विपन्न परिवारको तथ्याङ्क समेत सङ्कलन भइ सकेको गाउँपालिकाले जनाएको छ ।
तथ्याङ सङ्कलन सँगै राहत वितरणको काम समेत सुरु भएको गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले बताउनु भयो । काफ्लेका अनुसार कानेपोखरी गाउँपालिका भित्र १ हजार ३९ परिवार अतिविपन्न र १ हजार २ सय १ परिवार विपन्न रहेका छन् । जसमध्ये हाल सम्म ८६४ परिवारलाई राहत समेत वितरण गरिसकेको अध्यक्ष काफ्लेले बताउनु भयो । (हेर्नुस तथ्याङ्क)

यस्तै गाउँपालिकाले ३० लाख रुपियाँ विपद् राहत कोष निर्माण गर्ने निर्णय समेत गरेको छ । कोषमा मङ्गलबार अपरान्ह सम्ममा ३६ हजार रुपियाँ जम्मा भइसकेको छ । गाउँपालिकाले एनआइसी एसिया बैंकको रमाइलो शाखामा डि ३ सी ए ०००४५५७५२४०३ नं.को खातामा राहत जम्मा गरिदिन दाताहरूसाग आह्जान गरेको छ । गाउँपालिकाका अनुसार हाल सम्म कोषमा रमाइलो साकोस, जनएकता साकोस,मदन भण्डारी स्पोर्टस एकेडेमी ,नेकपा कानेपोखरी ५,जीवन विकास समाज रमाइलो शाखा ,साना किसान सहकारी संस्था लि.राष्ट्रिय युवा सङ्घ कानेपोखरीले नगद तथा जिन्सी सहयोग जम्मा गरिसकेका छन् । यसैगरी नेकपा कानेपोखरी–२, जीवन विकास शाखा बाहुनी,कानेपोखरी ब्यापार प्रबन्ध समितिले सहयोग गरिसकेका छन् । गाउँपालिकालाई विपदमा सहयोग गर्नेमा नेपाल पूर्व प्रहरी संगठन कानेपोखरी,केरौन साकोस ,न्यू देउराली कृषक सहकारी र लुथरन वल्र्ड फेडेरेसन रहेका छन् ।
गाउँपालिकाले भारत लगायत तेस्रो देशबाट नेपाल आएका ६९ जनाको पहिचान गरी तिनीहरूको ज्वरो मापन गरी निगरानीमा राखेको छ । बयरवन स्वास्थ्य चौकीमा ७ शैयाको प्रत्यक्ष निगरानी कक्ष समेत तयार गरेको गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले बताउनु भयो ।
गाउँपालिकाले कोरोना भाइरस फैलिन नदिन बन्दाबन्दीलाई पूर्ण कार्यान्वयन गर्न चैत ३ गते देखि नै अभियान सुरु गरेको समेत जनाएको छ । यस्तै गाउँपालिकामा जन चेतनामूलक ३ हजार थान पर्चा वितरण र ३० वटा वोर्ड राख्ने काम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । यसैगरी गाउापालिकाले भाइरस नियन्त्रण र रोकथामका लागि चैत १४, १५ र १६ गते २ सय थान सेनिटाइजर र ६ हजार ५ सय थान माक्स वितरण गरेको जनाएको छ ।

प्रकाशित मिति: २०२०-०४-०७ , समय : २१:४७:२५ , ४ वर्ष अगाडि