न भकारीमा अन्न, न करेसाबारीमा तरकारी । कसरी बल्छ चुल्होमा आगो ?

Enepal Patra Pvt. Ltd. , १३६८  पटक हेरिएको

हरि कोइराला
पथरीशनिश्चरे(मोरङ), २४ चैत । न भकारीमा अन्न । न करेसाबारीमा तरकारी । अन्न र तरकारीको जो हो गर्नेलाई नै दैनिकी चलाउन धौ धौ भइरहेको बेला मोरङको पथरीशनिश्चरे–१० शनिश्चरेमा बस्दै आएका भूटानी शरणार्थीहरूको चुल्हो बल्न छोडेको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले बन्दाबन्दी घोषणा गरेपछि
उनीहरूको दैनिकी कष्टमय हुँदै गएका शरणार्थीहरू बताउँछन् । ३२ वर्ष अघि तत्कालिन भूटान सरकारले लखेटेर नेपालमा शरणार्थीको जीवन बिताइरहेको उनीहरू यतिबेला इन्तु न चिन्तु भएका छन् । सुरुका दिनमा दाताले दिएको अन्न, तेल र दलहन बिक्री गरेर जीविकोपार्जन गर्ने उनीहरू यतिबेला चरम खाद्यान्न संकटमा रहेको बताउँछन् ।
शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चायोग (युएनएचसीआर) र विश्व खाद्य कार्यक्रमले २०१९ को अप्रिल १ देखि शरणार्थीलाई खाद्यान्न दिन छोडेको थियो । त्यसयता उनीहरू तेस्रो देश गएका आफन्तहरूले पठाएको रेमिट्यान्सबाट दैनिकी घरखर्च चलाउँदै आएका थिए । स्थानीय गाउँमा दैनिक ज्याला मजदुरी गर्ने र आफन्तले पठाएको खर्चले दैनिक हात मुख जोड्दै आएका शरणार्थीहरू यतिबेला दातृ संस्थाको बाटो हेरेर बसिरहेका छन् । सरकारले बन्दाबन्दी घोषणा गरेपछि रेमिट्यान्स पनि आउन छोडेको छ । गाउँघरमा काम पाइदैन । धेरै जसो पुरुष घर निर्माण,इलेक्ट्रोनिक्स र उद्योगमा मजदुरी गर्नेछन् । निर्माण र उद्योगका काम ठप्प छन् । दैनिक काम गर्दै किनी खाने शरणार्थी यतिबेला अनागरिक हुँदाको दुख सहेर बसिरहेका छन् ।
५६ वर्षीय नरबहादुर राईको सात जनाको परिवार छ । भूटानबाट फर्किदा २२ जनाको परिवार थियो । अरु सबै तेस्रो मुलुक गइसकेको राईले बताउनु भयो । छाप्रा अगाडि श्रीमतीले चटपटे पसल गर्थिन् । म मजदुरी गर्थे । पुनर्वास गएका आफन्तले अलि अलि खर्च पठाउँथे । त्यसैले घर चलेको थियो । तर, अहिले चटपटे पसल बन्द छ । गाउँघमा काम केही पाइदैन । भएको २५÷३० केजी चामल सात जनाको परिवारले खाइसक्योैं । उहाँले ३२ वर्षयता सबैभन्दा ठूलो सङ्कटको सामना गरिरहेको बताउनु भयो ।
३० वर्षीय लोकबहादुर विष्टको ३ जनाको परिवार छ । दैनिक ज्यालादारी गरेर घर चलाइरहनु भएका बिष्टले छाप्रामा अन्न भण्डारण गर्नेगरी पैसा जोहो नहुँदा एक छाक खाएर दिन कटाउनु परिरहेको बताउनु भयो । अझ बीर्खबहादुर तामाङ त एक्लो हुनुहुन्छ । ३३ वर्षीय तामाङका आफन्त कोही डेनमार्कमा छन् । कोही क्यानडा त कोही अमेरिका । तर,तामाङ नेपालमा भोकै दिनचर्या बिताइरहनु भएको छ । उहाँले भन्नुभयो – आफन्तले पैसा पठाउनु हुन्थ्यो । सानो तिनो काम पनि गर्थे । तर, अहिले न पैसा आउँछ , न काम गर्न नै पाइएको छ ।
राई , तामाङ र बिष्ट प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । पथरीशनिश्चरे १० को शनिश्चरेस्थित भूटानी शरणार्थी शिविरमा हाल ५ सय ५२ घरधुरीमा बसेका १६ सय ५० जना शरणार्थी बसिरहेका छन् । उनीहरू सबैको दैनिकी समान छ । शिविर ब्यवस्थापन समितिका सचिव चम्पासिंह राईले भन्नुभयो – दातृ संस्थाले खाद्यान्न दिन बन्द गरेपछि यहाँका शरणार्थीहरू आफन्तले पठाएको पैसा र यहीँ मजदुरी गरेर घर चलाइरहेका थिए । तर, अहिले पैसा पनि आएको छैन् । काम गर्न निस्कने कुरै भएन । हाल सम्म कुनै राहत नपाएको राईले बताउनु भयो ।
शरणार्थीहरूले विजुली र पानीको समेत बील आफ्नै खर्चमा तिर्नुपर्छ । यही अवस्था रहि रहे ठूलो भयावह हुने राईले बताउनु भयो ।

प्रकाशित मिति: २०२०-०४-०६ , समय : १८:५९:३१ , ४ वर्ष अगाडि