Enepal Patra Pvt. Ltd. , २०१३ पटक हेरिएको
हरि कोइराला,
पथरीशनिश्चरे(मोरङ) १ चैत ।
पूर्वीय शास्त्रहरूमा आधारित धार्मिक महत्वका शुभकार्यमा नाचिने बालन नाच गुमनाम हुँदै गएपछि त्यसको संरक्षणको अभियान सुरु गरिएको छ ।अभियान मोरङको पथरीशनिश्चरे–३ आइतबारे क्षेत्रका बुढापाकाहरूले सुरु गर्नु भएको हो ।
पप, ¥याप र रकसँगै पश्चिमी शैलीका बाजा गाजाले गाउँ–गाउँमा अस्तित्व जमाएपछि बालन र खैजडी लोप हुँदै गएका थिए । अझ पछिल्लो पुस्ता पश्चिमी संस्कृतिको मोहमा फसेपछि मजुरा, झ्याम्टा,ढोलक,खैजडी,झ्याली जस्ता पूर्वीय बाजाहरू संग्रहालयमा थन्किएका छन् । खासगरी खस र आर्य सम्प्रदायमा नाचिने बालनलाई सूचना प्रविधिसँगै भित्रिएको पश्चिमा संस्कृतिले विस्थापित गराएपछि पथरीशनिश्चरेका वुढापाका ३ वर्षयता बालन र खैजडीको संरक्षण अभियानमा लाग्नु भएको हो ।
आधुनिक गीत सङ्गीतको विकास नभएका बेला पूर्वीय दर्शन मान्नेहरूले पुराण, बिवाह, व्रतवन्ध,स्वस्थानी पूजा, ग्रहशान्ति, रूद्री–चण्डी पाठ जस्ता शुभकार्यमा बालन र खैजडी नाचेर मनोरञ्जन लिने र दिने चलन थियो । एक दशक अघिसम्म गाउँघरमा बालन नाचेको स्मरण गर्ने मोरङ पथरीशनिश्चरे ३ आइतबारेका भूवनेश्वर पाख्रेल बालन र खैजडी नाचको हराउँदै गएकोले त्यसको संरक्षण गर्न संस्थागत रुपमा लागेको बताउनु हुन्छ । शुभकार्यमा दिनभर पूजापाठ गर्ने र राति बालन नाच्ने परम्परा थियो । तर, पछिल्लो पुस्ताको बेवास्ताका कारण यो नाच आझेलमा परेको उहाँले बताउनु भयो ।
् बालन नाच्ने मानिसको समेत अभाव खड्किएको उहाँको भनाई छ ।संस्कृति संबद्र्धन गर्ने युवाहरू नै बिदेशिएका छन्’, उहाँले भन्नुभयो–यहाँ भएकाहरू पनि खासै चासो राख्दैनन् ।’ त्यसैले युवापुस्तालाई समेत सहभागी गराएर तालिम दिलाइरहेका छौं । पोख्रेलको अध्यक्षतामा पाथीभरा बालन संरक्षण समूह नै गठन भएको छ । समूहमा १७ जना आवद्ध हुनुहुन्छ ।
समूहमा आवद्ध भएका मात्र होइन, नभएकाहरू पनि हरेक मङ्गलबार राति पालै पालो समूहका सदस्यहरूका घरमा हुने बालन र खैजडी नाच हेर्न र सिक्न भेला हुने गर्नुहुन्छ । बालन नाच्न सिकिरहनु भएका ४३ वर्षीय सूनील पोख्रेलले भन्नुभयो–नेपाली संस्कृति भारतका नेपाली भाषी शहर दार्जिलिङ र सिक्किमले जोगाएको छ । हामी कहाँ लोप हुँँदै गएकोले संरक्षणका लागि अभियान सुरु गरेका हों । उहाँ मात्र होइन्,अर्पण अधिकारी(१७)दिपेश अधिकारी(१५)कृष्ण सुवेदी(१५)मुकेश रिजाल(१४) रोमन कोइराला (१५) वर्षका किसोरहरू पनि बुढापाकाहरू सँग सँगै नाच्ने गाउने गर्नुहुन्छ ।
समूहका लागि आवश्यक पर्ने कुनै सामग्री छैनन् । गाउँका भजन कीर्तन मण्डलीसँग मागेकै भरमा बाजागाजाको बन्दोवस्त हुन्छ, समूहको । तिनै वाद्ययन्त्र लिएर उहाँहरू भेला हुनुहुन्छ र नाच गान सुरु हुन्छ ।
हिन्दूग्रन्थहरू गीता, रामायण, देवी भगवतबाट कथा झिकेर रामजीकी जय, सीताजीकी जय, कृष्णजीकी जयबाट शुरू गर्दै रातभर बालन नाच्ने गरिन्छ । चारदेखि सात जोडी समूह बनाएर झ्याली, झयाम्टा र मजुराहरू बजाउँदै ४ सय २७ चरणमा नाच सकिने गर्दछ । नाचिने घरका आँगनबीचमा एक खाँबो गाडिएको हुन्छ । उक्त खाँबोलाई मालिका भनिन्छ । मालिका वरिपरि घुम्दै रामायण, गीता, देवी भगवतका श्लोकका लयमा बाजागाजासँगै नाचिन्छ ।
हा……हा….
हामी र आयौ, पञ्चै बालन खेल्न आँगन बढारी राखन
हा…..हा….
हामी र जान्छौ दिदीबहिनी भेट्न चामल कुटाई राखन
नाच शुरू गर्नुपूर्व नाच्ने मध्येबाट एक जनालाई नेता चुनिन्छ । नाचमा श्लोक पाठ गर्ने व्यक्तिलाई ‘खलिपा’ भनिन्छ । खलिपाले लयवद्ध गाएपछि नाच्नेले पुनः श्लोक पाठ गर्दै घुम्ने र नाच्ने गर्छन् । यो क्रम साझँबाट शुरू भएर बिहानसम्म पनि चल्ने गर्छ । पृथ्वी, जल र आकाशका सबै देवता पुकारेर बालन शुरू गरिन्छ र तिनीहरूलाई विदा गरेर मात्र समापन गरिन्छ । बालनमा दुई दुईजनाको जोडी आमने सामने उभिन्छन् । दुवैको हात जोडेर ‘हाँ…….’ को लामो लय निकाल्छन्, खलिपा पाठ गरेको श्लोक दुई पटक गाउँदै पुनः आमनेसामने भएर हात जोड्दै उक्त श्लोकको नाच सम्पन्न गर्छन् । बीचमा ‘जतिकम्पा, जतिकम्पा हो हो हो’ भन्दै मालिका वरिपरि झ्याम्टा बजाउँदै उफ्रिएर नाच्छन् । त्यो बेला जो जति उफ्रिएर नाच्यो त्यसको त्यति नै बढी प्रशंसा हुने गर्छ ।
तिहारको बेलामा के फुलै फुल्यो,
फुलै र फूल्यो सयपत्री आँगंनै रमाइलो ……
आशिषमा सबै देवीदेवता पुकारेर सुख, शान्ति, ऐश्वर्य प्राप्तिको कामना गरिन्छ ।कला र संस्कृतिको धनी देश भएपनि युवापीढिले आफ्नो मौलिक कला र संस्कृतिको सम्बद्र्धन र संरक्षणमा चासो देखाउन नसकिरहेको बेला पथरीशनिश्चरे ३ का वुढापाकाहरूले बालनलाई ब्यँताएका मात्र छैनन् । अब गाउँ गाउँमा बालन पु¥याउँने अभियान नै सुरु भएको छ ।
पाथीभरा बालन समूह प्रदेश नं. १ नाम दिइएको समितिले १४ जिल्लामा समिति गठन गर्ने भएको छ । गाउँ गाउँमा बालन र खैजडी प्रतिम मोह भएका मानिसहरू अझै पनि प्रसस्त छन् । तर , अगुवाई गर्ने निकायको अभावमा त्यस्ता प्रतिभाहरू ओझेलमा परेका छन् ।
एकादेशको कथा बन्न लागेको बालन र खैजडीलाई संरक्षण र प्रवद्र्धन गर्न भूवनेश्वर पोख्रेलको अध्यक्षतामा १७ सदस्यीय प्रदेश स्तरीय समिति पनि गठन भएको छ । समितिको उपाध्यक्षमा प्रेमप्रकाश नेपाल,सचिव अर्जुन काफ्ले , सह सचिव चन्द्रप्रकाश अधिकारी र कोषाध्यक्ष उमाकान्त खतिवडा रहनु भएको छ ।
यस्तै समूहको सदस्यमा टङ्कप्रसाद पोख्रेल,सूनील पोख्रेल,दिननाथ दाहाल,रामप्रसाद लुइटेल,गोपाल अधिकारी, घनश्याम लुइटेल,मेगप्रसाद लुइटेल र युवराज भट्टराई हुनुहुन्छ । यस्तै समूहको सदस्यमा देवी घिमिरे,कृष्णप्रसाद अधिकारी,टेकनाथ खतिवडा,चन्द्रप्रसाद तिम्सिना र रुद्रप्रसाद तिम्सिना रहनु भएको छ ।
समूहका हरेक सदस्यले प्रत्येक मङ्गलबार पालै पालो गरी बालन नाच्ने ब्यवस्था मिलाउनु पर्छ । समितिका सदस्य मात्र होइन, वल्लो र पल्लो गाउँबाट समेत बालन हेर्न पुग्नेको संङ्ख्या उल्लेख्य हुने गर्छ । सचिव अर्जुन काफ्लेले भन्नुभयो– संस्था दर्ता गरिसक्यौं । अब हाम्रो टोली ब्यावसायिक रुपमा बालन नाच प्रर्दशन गर्न सक्ने भइसकेको छ । विगतमा पनि विभिन्न स्थानमा गएर बालन प्रतियोगितामा भाग लिएको टोलीले अहिले सम्म पुरस्कार नलिई फर्किएको छैन् ।
हाल सम्म पाएको पुरस्कार र साप्ताहिक रुपमा भएका नाचबाट संकलित रकमलाई जम्मा गरी कोष तयार गरिरहेको समूहका कोषाध्यक्ष उमाकान्त खतिवडाले बताउनु भयो ।
प्रकाशित मिति: २०२०-०३-१४ , समय : २१:०३:५५ , ५ वर्ष अगाडि