सरकारको विरोधमा प्रदेशमा तरुण दलको आन्दोलन

‘निर्मला पन्तका बलात्कारीलाई सरकारले बचाएको छ’

Enepal Patra Pvt. Ltd. , ५९२  पटक हेरिएको

विराटनगर ९ माघ । काँग्रेस भ्रातृ संगठन तरुण दलले प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाट सरकार विरोधी आन्दोलन सुरु गरेको हो । तरुण दलका केन्द्रीय नेताको सहभागितामा मंगलबार विराटनगराट सुरु भएको आन्दोलन सातै प्रदेशमा हुनेछ ।
विरोध सभालाई सम्बोधन गर्दै नेपाल तरुण दलका केन्द्रीय सभापति जितजंग बस्नेतले निर्मला पन्तको बलात्कार र हत्यामा गृहमन्त्रीकै छोरातर्फ औंला ठडिएको आरोप लगाउँदै उनलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । भने,‘‘यो घटनामा गृहमन्त्रीका छोरालाई कानुनी दायरामा ल्याइनु पर्छ ।’’ उनले एउटा बच्चीको बलात्कार र हत्या हुँदासमेत सरकार नै त्यसलाई ढाकछोप गर्न सक्रिय भएको आरोप लगाए । घटना हुँदा गृहमन्त्रीका छोरा महेन्द्रनगरमा नै रहेको बताए ।
सरकारलाई भ्रष्टाचारमुक्त बनाउन दबाब दिने उद्देश्यले तरुण दल आन्दोलन लिएर सातवटै प्रदेशमा गएको नेताहरुले बताए । भ्रष्टाचारमा सरकार नै फसेकोले यसको विरोधमा सडकमा आउनु परेको रसमृद्धिको कुरा गर्ने सरकार असफल बन्दै गएको दाबी गरे । प्रधानमन्त्री केपी ओलीलाई जनताले समृद्ध नेपाल बनाउने आशामा दुई तिहाई मत दिएको तर त्यसको त्यसको अवमूल्यन भएको बताए । भने,‘‘हामीले पनि चिठी पठाएर देशलाई समृद्ध बनाउनु होस भन्दै शुभकामना दिएका थियौं तर सरकारको बाटो उँधोगतितर्फ लागेको छ ।’’
देशलाई अधिनायकवाद तर्फ लैजान अहिले मुलुकमा चारथरिका कम्युनिष्ट सक्रिय भएको बताउँदै बस्नेते सानो अंशका रुपमा एउटा सडकमा, अर्को जंगलमा, एउटा संसदमा र अर्को सरकारको रुपमा सरकारमा रहेको बताए । भने,‘‘सबैतिरबाट घेराबन्दी गरेर मुलुकलाई अधिनायकवादतर्फ लग्ने प्रयास हुँदैछ ।’’
विराटनगरको शनिबाटबाट विरोधसहित शुरु भएको जुलुस महेन्द्र चौकमा आई विरोध सभामा परिणत भएको थियो । सभामा सहभागी हुन प्रदेश १ का चौधवटै प्रदेशबाट तरुण दलका कार्यकर्ता विराटनगरमा भेला भएका थिए ।
सभालाई सम्बोधन गर्दै तरुण दलका केन्द्रीय उपसभापति उत्तम चापागाईंले वाइडबडीमा खरिदको घटनामा संलग्न मन्त्री रविन्द्र अधिकारीले राजिनामा नदिएर निर्लज्जता प्रदर्शन गरेको बताउँदै भने,‘‘यो प्रकरण पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा शुरु भई केपी ओलीको पालामा पूरा गरिएको छ ।’’ सरकारले जनतलाई दिनुपर्ने उपहार हेलिकप्टर र १८ करोडको गाडीको रुपमा राष्ट्रपतिलाई दिएको आरोप लगाए ।
तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई बचाउन सरकार नै सक्रिय भएको आरोप लगाउँदै भने,‘‘वाइडबडी र सुनकाण्ड गर्ने पनि सरकारै मानिसहरु हुन ।’’ उनले सुशील कोइराला र गिरिजाप्रसाद कोइरालाको नामका अस्पताल खारेज गरिए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए । कोषाध्यक्ष विद्वान गुरुङले सरकारको रवैया जनहित भन्दा पनि आफ्ना मानिस र आसोपपासेलाई पोस्ने खालको भएको बताए । अत्यधिक कर बढाएर जनताको ढाड सेकेको, महंगी चुलिएको र जनताको थाप्लो ऋण अझ बढेको उनको भनाइ थियो ।
विरोध सभामा तरुण दल सुनसरीका सभापति सिजन गुरुङ, झापाका सभापति गोपाल तामाङ, मोरङ काँग्रेसका सचिव नागेश कोइराला, तरुण दलका केन्द्रीय सदस्य रंजित झा र मोरङ सभापति सञ्जय थापाले मन्तब्य राखेका थिए ।

प्रकाशित मिति: २०१९-०१-२३ , समय : १०:४७:१९ , ५ वर्ष अगाडि