पार्टीभित्र बन्धु हत्याको शृङ्खला अत्यन्तै घातक – कांग्रेस नेता आचार्य

Enepal Patra Pvt. Ltd. , ३४६८  पटक हेरिएको

विराटनगर, २० फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले पार्टीभित्र बन्धु हत्याको शृङ्खला सुरु भएको भन्दै पार्टीको जीवनका लागि यो अत्यन्तै घातक हुने बताउनुभएको छ । पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषदद्वारा विराटनगरमा आयोजित सम्मान कार्यक्रममा उहाँले पार्टीलाई आफ्नो बपौती ठान्ने प्रवृत्ति मौलाउदै गएकाले बन्धु हत्याको संस्कृति भित्रिएको कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो – “महाधिवेशन नजिकिदैछ । धेरैलाई सभापति बन्ने महत्वकांक्षा छ । जसले नेतृत्व हडप्ने अस्वस्थ प्रतिस्पर्धा प्रारम्भ भएको छ । अहिले नेताहरूका बीच आपसमा गालीगलौज , छेडखानी र अपमान गर्ने संस्कृति विकास भएर आएको छ।“ नेता आचार्यले योबेला मेचीदेखि कालीसम्म कांग्रेसका बीचमा एकता र सद्भावको वातावरण बन्नुपर्नेमा उल्टो हुनगएकोले पार्टी झन रसातलमा पुग्ने स्थिति बन्दै गएकोप्रति चिन्ता जनाउँदै भन्नुभयो – ‘मलाई भन्नुस आपसी गालीगलौज, मनमुटाव र अपमानको व्यवहारबाट कसको भलो हुन्छ?’ नेता आचार्यले आफू सधैं बृहत एकता , सद्भाव र शक्तिशाली कांग्रेसको पक्षमा उभिएको व्यक्ति भएकोले आफ्नो कुराहरू पार्टीको फोरममा राख्ने गर्दै आएको बताउनुभयो ।
पार्टी सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै आचार्यले भन्नुभयो–“ म पार्टी सभापतिलाई भन्छु , तपाईंले पार्टी विधि, विधान र परम्पराअनुसार चलाउन सक्नुभएन ।पटकपटक प्रधानमन्त्री बन्नुभयो । पार्टी सभापति पनि बन्नुभयो । अब तपाईंले पाउनुपर्ने केहि बाँकी रहेन ।तपाईंले त यो घडीमा पार्टीका प्रति पूर्ण समर्पणको भाव देखाउन जरुरी छ । सबैलाई एक बनाएर पार्टीलाई एकढिक्का बनाउने पहिलो अभिभारा तपाईंको हो । आचार्यले यो कार्यमा सभापति देउवा चुकेकोसमेत औल्याउँनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका रामचन्द्र पौडेलप्रति लक्षित गर्दै आचार्यले भन्नुभयो –“ पौडेलजी हिडिहाल्नुभया । आज उहाँलाई पनि केही भन्नुथियो । तपाईंले आफ्ना असहमति र फरक मत पार्टीको फोरमभित्र भन्ने हो ।बाहिर कोकोहोलो मच्चाउने होइन । त्यो राम्रो पनि हुन्न ।“ आचार्यले अगाडि थप्नुभयो – “हिजो पार्टीमा थिति भत्किदा, विधि तोडिदा र विधान मिचिदा किन बोल्नुभएन ? सबै भागवण्डामा मिल्यो होइन? पार्टी भित्र भागवण्डाको संस्कृति भित्र्याउने मध्ये प्रमुख एक पौडेल पनि भएकोतर्फ इंगित गर्दै आचार्यले पौडेललाई “कि त विधि, थिति र नीतिका लागि लड्नुस । होइन, भागवण्डा नै चाहिएको हो भने सभापतिसंग बन्द कोठामा बसेर सुटुक्क भाग मिलाउनुस । बाहिर रमिता नदेखाउनुस भन्दै भनेर सुझाउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि रहनुभएका पौडेल कार्यव्यस्तताको कारण देखाउदै आचार्य बोल्नु अगावै बोलेर काठमाडौ फर्किनुभएको थियोे । पार्टी भित्र अनेकखाले अपसंस्कृति भित्र्याउन अहिले शीर्ष नेताहरू नै लागेको कारण पार्टी जर्जर बन्नपुगेको आचार्यको कथन थियो ।उक्त अपसंस्कृतिलाई कोरोना भाइरससंग तुलना गर्दै कोरोनाले विश्वमा फैलाएको सन्त्रास र त्रासदजस्तै पैसा लिएर टिकट बेच्ने , सांसद बनाउने जस्ता गलत अभ्यासले पार्टी ध्वस्त हुने चेतावनी दिनुभयो। उहाँले भन्नुभयो (“पैसा लिएर टिकट दिने , सांसद बनाउने यो विकृति पार्टीमा हावी भयो।यो तपाईं नेताहरूबाटै भएको हो। यसको संक्रमण डरलाग्दो छ अहिलेको कोरोना भाइरसजस्तै ।यो जति मौलायो उति यसले पार्टीलाई हानि पु¥याउँछ । यो बेलैमा नरोके एकदिन श्मशानमा पु¥याउने पक्का छ। यसलाई रोक्ने दायित्व तपाईंहरुकै हो किनकि यसको जननी तपाईंहरु नै हो।“ विकृतिको अन्त्य अनि विधि र नीतिको स्वस्थ अभ्यासबाट मात्रै पार्टी बलियो बन्नेछ भन्दै तपाईं जो कोहि सभापति बन्ने चाहना राख्ने साथीहरूलाई मेरो शुभकामना छ तर पहिले विकृति समाप्त पार्ने आट गर्नुहोस् भन्नुभयो । आचार्यले सभापति आकांक्षीलाई पार्टीलाई पूरानो अवस्थामा फर्काउने भिजन के हो ? त्यो तयार पार्न, मेचीकालीको गाउँगाउँ जान र कार्यकर्तासंग संवाद गर्न पनि सुझाउनुभयो ।बलियो पार्टी बनाउने आधार त्यहाँ भेटिने भन्दै पार्टी बलियो भएमात्र तपाईं नि बलियो नेतृत्व बन्नसक्नुहुन्छ आचार्यको भनाइ थियो ( “सभापति मात्रै बन्ने सपना पाल्नुभएको छ भने कोरा सपनाको लागि किन बन्धुगलौज र हत्या शृङ्खलाको मतियारी गर्नुहुन्छ?“ सोही क्रममा आचार्यले पार्टी कसैको बपौती नभएको पनि उल्लेख गर्नुभयो । पिताजी कृष्णप्रसाद कोइरालाले रोपेको प्रजातन्त्रको बीउ वीपी कोइरालासंगै गणेशमान, सुवर्णहरुको साथमा सयौं कार्यकर्ता र लाखौं नागरिकको बलिदानीबाट आजको उपलब्धि हासिल भएको हो ।

पिताजीको सन्तान हामी तमाम नेपाली होस तमाम कार्यकर्ता हो । त्यस्तै वीपीको विरासतको पहिलो हकदार पनि हामी लाखौं कार्यकर्ता हौं । मंचमै रहनुभएका केन्द्रीय सदस्य शेखर कोइरालातिर संकेत गर्दै आचार्यले भन्नुभयो– शेखर , शशांक र सुजाता मात्रै कोइराला परिवारको लिगेसी होइन । पिताजीको आदर्श र वीपीको विचारलाई निष्ठापूर्वक आत्मसात गर्ने जोकोही पनि लिगेसीको हकदार छन् ।“ नेता आचार्यले ०७४ सालको “जुन म्यान्डेट“ लाई अहिलेको सरकारले दुरुपयोग गरेको भन्दै नेकपाको सरकारले जनतालाई ढाटेको जिकिर गर्नुभयो।“सरकार सहि दिशामा अघि बढेन ।जनताको आखामा सरकारका प्रति न आशा न भरोसा छ।बरु निराशाले आँखा भिजेका छन् ।“अबको कांग्रेस महाधिवेशन जनताको तिनै भिजेका आँखामा रुमालले पुछिदिने कर्मका प्रति परिलक्षित हुनुपर्दछ भन्दै आचार्यले ०७४ मा भएको गल्ती( कमिकमजोरीलाई सच्याउनसक्ने अठोट र दृढताले भरिएको हुनुपर्दछ।जनताको पार्टी कांग्रेस नै हो भनी विहंगम सन्देश प्रवाह गर्ने लक्ष्यका प्रति निर्देश भएको हुनुपर्दछ भन्ने विचार व्यक्त गर्नुभयो। तिक्तता,अपमान,द्वेष र विभाजित मनस्थितिबाट प्रेरित महाधिवेशनले जोसुकैलाई सभापति बनाए पनि पार्टी बलियो बन्न नसक्ने आचार्यको निष्कर्ष थियोे ।कार्यक्रममा पूर्वराजदूत गोपालप्रसाद शर्मालाई पिताजी कृष्णप्रसाद कोइराला स्मृति सम्मानद्वारा सम्मान गरिएको थियोे ।

प्रकाशित मिति: २०२०-०३-०३ , समय : २०:२२:२० , ४ वर्ष अगाडि