‘सरकार जनता मार्न चाहन्छ’ – बलदेव तिमल्सिना

Enepal Patra Pvt. Ltd. , ४४१  पटक हेरिएको

काठमाडौं, १८ फागुन । केपी शर्मा ओली नेतृत्वको सरकार नीतिगत भ्रष्टाचारमा लिप्त भएको भन्दै भ्रष्टाचार बढाउन सबैखाले कर वृद्धि गरेको भन्दै तत्काल फिर्ता लिन माग गर्दै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले आन्दोलन थालेको छ ।

नेविसंघले जनताको ढाड सेकाउन गरिएको सबैखाले करको वृद्धि, महंगी, भ्रष्टाचारका विरुद्ध र स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको सुनिश्चितताको निम्ति आइतबार बिहान देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन समेत गरेको छ ।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले काठमाडौंको पशुपति बहुमुखी क्याम्पसमा आयोजित विरोधसभामा बोल्दै जनताको ढाड सेक्ने र जनताको चुलो बल्न नदिने कदम विरुद्ध वाध्य भएर आन्दोलनमा होमिनु परेको बताए । उनले भने, ‘सरकार जनता मार्न चाहन्छ । हरेक ठाउँमा कर हजार प्रतिशतसम्म वृद्धि गरिएको छ ।’

जनताले तिरेको कर कहाँ गएको छ रु भन्दै तिमिल्सिनाले अब विद्यार्थीहरु सडकमा आउनुको विकल्प नभएको उनले बताए । उनले सडकबाट केपी ओली सरकारलाई हटाउनुको विकल्प नभएको समेत पनि बताए ।

वृद्धि भएको इन्धनको कर फिर्ता लिन, आयातित पाठ्यपुस्तकमा लगाइएको १० प्रतिशत कर फिर्ता गर्न, ललिता निवास जग्गा प्रकरण, सुरक्षण प्रिंन्टिङ प्रेस खरिद लगायतका भष्टाचारमा मामिलामा तत्काल छानबिन टोली गर्न तथा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति तत्काल सार्वजनिक गर्न माग गरिएको छ ।

विद्यार्थीहरु आइतबार बिहान ९ देखि ९ः३० बजे देशभरका सम्पूर्ण क्याम्पस अगाडि भेला भएका थिए । विद्यार्थीहरुले विभिन्न ठाउँमा जुलुस समेत निकालेका छन् ।

प्रकाशित मिति: २०२०-०३-०१ , समय : ११:२३:४७ , ४ वर्ष अगाडि