कानेपोखरीमा राष्ट्रपति रनिङ शिल्ड सुरु

Enepal Patra Pvt. Ltd. , १५८८  पटक हेरिएको

कानेपोखरी(मोरङ), १७ फागुन । कानेपोखरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको १२ औं संस्करण शनिबारबाट सुरु भएको छ ।
प्रतियोगिताको जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोख्रेलले एक समारोहका बीच गर्नुभयो । जनसेवा माध्यमिक विद्यालयको खेल मैदानमा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका संयोजक पोख्रेलले गाउँघरबाटै सन्दिप लामिछाने र बैकुण्ठ मानन्धरहरू उत्पादन हुने बताउनु भयो । पोख्रेलले राष्ट्रपति रनिङ शिल्ड खेलकुदका प्रतिभा जन्माउने पहिलो पाठशाला भएको बताउँदै यहीँबाट उत्पादित खेलाडीले भोलि राष्ट्रका लागि खेल खेल्ने उल्लेख गर्नुभयो ।
खेलसँगै अध्ययनलाई पनि अघि बढाउनु पर्नेमा जोड दिँदै उहाँले खेलकुद पनि अब ब्यावसायका रुपमा विकसित भइसकेकोले उत्कृष्ठ खेल खेल्नेले निरास हुनु नपर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समिति मोरङका सदस्य सचिव देवराज कट्वालले खेलका माध्यमले राष्ट्रको परिचय निर्माण हुने बताउनु भयो ।
गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा स्थानीय आयोजकका तर्फबाट जनसेवा माविका प्रधानध्यापक दामोदर सिग्देलले स्वागत मन्तब्य गर्नुभएको थियो ।
फागुन १८ गते सम्म हुने राष्ट्रपति रनिङ शिल्ड २०७६ मा गाउँपालिका ८ वटा सामूदायिक र ५ वटा संस्थागत विद्यालयले प्रतिस्पर्धा गरिरहेका छन् । सामूदायिक तर्फ जनकल्याण,जनसेवा,बाल,शिक्षा सदन,सिंहदेवी,शिक्षा विकास, श्रीमावि,भौंसावारी र श्रीमावि होक्लाबारी रहेका छन् । यस्तै संस्थागत तर्फ आदर्श, पर्ल एकेडेमी,रमाइलो बाल जगत,माउण्ट हर्मन र पिनाकल ज्ञान मन्दिर रहेका छन् ।
प्रतियोगितामा एथलेटिक्स तर्फ विभिन्न विधाका १७ खेल हुनेछन् । जसमा छात्रा र छात्रका लागि अलग अलग खेल हुनेछन् । त्यस्तै कवड्डी र भलिवल खेल हुनेछन् ।

प्रकाशित मिति: २०२०-०२-२९ , समय : २०:३४:१८ , ४ वर्ष अगाडि