ड्रमसिडर प्रति किसानको बढ्यो आकर्षण

Enepal Patra Pvt. Ltd. , १४३९  पटक हेरिएको

हरि कोइराला,
उर्लाबारी, १४ फागुन । उत्पादन बढेपछि मोरङको उर्लाबारी–८ खानेपानी टोल र आसपासका किसानहरू ड्रमसिडरबाट धान रोप्न आकर्षित भएका छन् ।
गत असारमा मोरङको उर्लाबारी–९ नरबहादुर मोक्तानले राम्रो उत्पादन लिनु भएपछि छिमेकी टोलका मातृकाप्रसाद गौतमले पनि ड्रम सिडरबाट धान रोप्न थाल्नु भएको हो । ड्रमसिडरबाट धान रोप्दा थोरै लगानी,समयको बचत र उत्पादन पनि धेरै हुने उर्लाबारी नगरपालिकाका कृषि शाखा प्रमुख अम्विकाप्रसाद लुइटेल बताउनु भयो । उहाँले भन्नुभयो – ड्रम सिडरबाट धान रोप्दा बीउको ब्याड राखिरहनु पर्दैन । बीउ काढ्ने, रोपाहार खर्च बचत हुने मात्र होइन । गोडमेलमा पनि समय र खर्च दुबै बचत हुन्छ ।
नगरको धान उत्पादन हुने वडा नं ८ र ९ का किसान यतिबेला चैते धान रोप्ने चटारोमा छन् । आधुनिक प्रविधिबाट धान रोप्न थाल्नु भएका गौतमले गत वर्ष नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा हाते ट्रेलर(ट्याक्टर) पाउनु भएको थियो । नगरपालिकाले हाते ट्याक्टर दिएपछि उहाँले यो वर्ष १० कट्ठामा ड्रमसिडरबाट धान रोप्न लाग्नु भएको हो । आधुनिक प्रविधिबाट धान रोप्दा लगानी आधा घटेको गौतमले बताउनु भयो । उहाँले भन्नुभयो – रोप्दा कम लगानी भयो । अब अलि थोरै नै उत्पादन भयो भने पनि घाटा नहोला ।
गौतमले मात्र होइन । उहाँका छिमेकीहरू पनि चैते धान प्रति आकर्षित हुनु भएको छ । कल्पना आचार्यले ५ कट्ठा जग्गामा धान रोप्नु भएको छ ।
हर्दिनाथ १ जातको धान उर्लाबारीको महाराजथान, खैरहनी क्षेत्रका किसानहरूले लगाउन सुरु गर्नु भएको छ । हिउँद नसकिदै किसानहरू धान उत्पादनमा लागेका छन् । तर, उत्पादन भएपछि धानले मूल्य नपाइला कि भन्ने चिन्ताले भने उहाँहरूलाई छोडेको छैन् । नगरको वडा नं.१ को झारसाँदीका किसानले पनि चैते धान लगाउन सुरु गरेको कृषि शाखा प्रमुख लुइटेलले बताउनु भयो ।

प्रकाशित मिति: २०२०-०२-२६ , समय : १९:५६:५१ , ४ वर्ष अगाडि