फोहोर व्यवस्थापनमा मध्यपुरको सफलता

Enepal Patra Pvt. Ltd. , ९३३  पटक हेरिएको

भक्तपुर, १४ फागुन । घरबाट निस्कने फोहोर व्यवस्थापनमा समस्या भइरहेका बेला मध्यपुर थिमि नगरपालिकाले फोहोरलाई वरदान सावित गराएको छ । जापानी प्रविधिबाट बिनारसायन प्रयोग गरी कुहिने फोहोरलाई स्थानीय स्तरमा नै प्राङ्गारिक मल उत्पादन गरी फोहोर व्यवस्थापन गरिएको हो ।
नगरपालिका–४ स्थित विष्णुकुण्ड क्षेत्रको चार रोपनी सार्वजनिक जमिनमा जापानी प्रविधिको कम्पोस्ट मल उत्पादन केन्द्र निर्माण गरिएको छ । एक किलो फोहोरबाट एक किलो नै प्राङ्गारिक मल उत्पादन गर्न सकिने र प्रतिकिलो मलको ५० रुपियाँमा धमाधम बिक्री भइरहेको छ । दुई वर्षअघि सुरु गरिएको जापानी कम्पोस्ट प्रविधिबाट बनाइएको प्राङ्गारिक मलको फोहोर व्यवस्थापन अहिले सफल सावित भएको मध्यपुर थिमि नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको आर्थिक लगानी र रिकिसि प्रा।लि।को प्राविधिक सहयोगमा अर्गानिक मल उत्पादन गरिएको हो । रिकिसि प्रा।लि।का प्रबन्ध निर्देशक उषा गिरीले नेपालजस्तो कृषिप्रधान र सहरोन्मुख देशमा जापानी प्रविधिको कम्पोस्ट मल उत्पादन वरदान सावित हुने बताउनुभयो । दस वर्षसम्म जापानमा उक्त मल उत्पादनसम्बन्धी अध्ययन र अनुसन्धान गर्नुभएका उहाँले मध्यपुर थिमि नगरपालिकामा सुरु गरिएको उक्त काम पूर्णरूपमा सफल भएपछि अहिले मल उत्पादन आकर्षण केन्द्रका रूपमा विकास हुँदै गएको छ ।
उहाँले भन्नुभयो, “काठमाडौँको फोहोर सिसडोलमा अटाउन छाडेपछि त्यसको विकल्प खोजिरहेको काठमाडौंँ महानगरपालिकाले यो प्रविधि प्रयोग गरी सजिलै मल उत्पादन गरी आर्थिक लाभ लिन सक्छ ।” थिमिमा दुई हजार घरधुरी उक्त कम्पनीको सदस्य बनेका छन् भने यस वर्षभित्र पाँच हजार घरधुरीलाई सदस्य बनाउने नगरपालिकाको योजना छ ।
मल उत्पादनका लागि सबै भौतिक संरचना नगरपालिकाले निर्माण गरेको र नाफाको १५ प्रतिशत रकम कम्पनीले नगरपालिकालाई प्रदान गर्नुपर्नेछ । अहिले वार्षिक दस टन मल उत्पादन हुने गरेको छ । उत्पादित मल काभ्रे, सिन्धुपाल्चोक र धनकुटाको व्यावसायिक तरकारी खेतीमा प्रयोग हुँदै आएको जनाइएको छ ।

थिमि प्रशिक्षण केन्द्र बन्दै
जापानी प्रविधिको कम्पोस्ट मल उत्पादन अन्य नगरपालिकाले पनि अनुशरण गर्न थालेपछि थिमि नगरपालिका फोहोरबाट मल बनाउने प्रशिक्षण केन्द्र बन्ने भएको छ । “मध्यपुर थिमि नगपालिकाले जापानको टोबा सहरसँग भगिनी सम्बन्ध कायम गरी मल उत्पादन गरेको हो,” नगरप्रमुख मदनसुन्दर श्रेष्ठले भन्नुभयो, “यो मल दूषितरहित भएको प्रमाणित भएपछि राष्ट्रपति कार्यालय परिसरको बगैँचामा अहिले यही मल प्रयोग हुने गरेको छ ।” अहिले मध्यपुर थिमि नगरपालिकाले नै उत्पादन गरेको मलको अनुशरण गरी चितवनको राप्ती नगरपालिकाले मल उत्पादन कार्य सुरु गर्ने अन्तिम तयारी गरेको छ । काठमाडौँंको कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर र भक्तपुरको सूर्यविनायक नगरपालिकाले सोही प्रविधिबाट मल उत्पादन गर्न प्रारम्भिक
योजना बनाएका छन् । फोहोर व्यवस्थापनमा।
मल उत्पादन विधि
ढुटो, झरेको पात, रातो माटो र भूस मिलाएर ९सीएमबीएन० कार्बोन, मिनरल, ब्याक्टेरिया र नाइट्रोजनसहितको जापानी नाम ‘टोकोजाइ’ बनाउने गरिन्छ । उक्त टोकोजाइमा भूस र ढुटोले नाइट्रोजनको काम गर्छ, झरेको पातले ब्याक्टेरियाको र रातो माटोले मिनरलको काम गर्ने कम्पनीका प्रबन्धक गिरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कम्पनीले प्रदान गरेको आधा किलो टोकोजाइलाई नगरपालिकाले घरघरमा वितरण गरेको बाल्टिनमा हालेर सोही टोकोजाइ घरमा उत्पादन भएको फोहोरलाई गन्ध नआओस् भनेर एक हप्तासम्म राख्ने गरिन्छ । एक हप्तापछि नगरपालिकाको गाडीले घरघरमा पुगेर टोकोजाइ हालेर राखेको फोहोरलाई वडा ४ स्थित विष्णुकुण्ड क्षेत्रमा ल्याएर सङ्कलन गरिन्छ ।
सो मललाई दुई हप्तासम्म छोपेर राख्ने र मलको तापक्रम ६० देखि ७० डिग्री पुगेपछि मल पल्टाएर राख्नुपर्छ । ६० देखि ७० डिग्री तापक्रमले मलका फोहोरमा भएका नराम्रा कीटाणु आफैँ मर्ने र आवश्यक कीटाणु मात्र बाँकी रहन्छ । त्यसपछि मल चालेर पोको बनाएर बजारमा बिक्री गर्ने गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: २०२०-०२-२६ , समय : ०७:४४:३२ , ४ वर्ष अगाडि