कांग्रेस सचेतक राईले कविताबाटै मागे प्रधानमन्त्रीको राजिनामा

Enepal Patra Pvt. Ltd. , १३५६  पटक हेरिएको

विराटनगर, १३ फागुन । प्रदेश नं. १ का प्रदेश सभामा सबैभन्दा शसक्त देखिनु भएका प्रदेश सभा सदस्य एवं प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सचेतक सूयर्माराज राईले प्रधानमन्त्री खड्गप्रसाद ओलीको राजिनामा माग्नु भएको छ ।
मङ्गलबार संसदमा विशेष समय लिएर बोल्दै उहाँले कविता मार्फत नै प्रधानमन्त्रीलाई तीखो ब्यङ्ग गर्दै राजीनामा समेत माग्नुभयो । उहाँले प्रधानमन्त्रीले जनताका आधारभूत समस्या समाधानका विषयमा भन्दा ख्याल ठट्टामा दैनिकी बिताएको विषयलाई कविताका माध्यमबाट प्रस्तुत गर्नु भएको थियो । सांसद राईले कवितामा सारङ्गी रेटेको देखि जन्मदिनमा केक काटेर मण्डले चरित्र देखाएको विषयलाई उठाउनु भएको छ ।
राष्ट्रवादी बनेर जन समर्थन लिने तर,करोडौं अरवौ भ्रष्टाचार गर्ने सरकार प्रति उहाँले तीखो ब्यङ्ग्य गर्नु भएको छ ।
उहाँले संसदमा बाचन गरेको कविता जस्ताको तस्तै ।
बालुवाटारमा बेसुरा सारङ्गी रेटेको देखियो ।
सर्वहारा वर्थ डे मा केक होकी देश काटेको देखियो ।।
सामन्ती, बुर्जुवा पुँजीपति जनताका शत्रु हुन भन्थे ।
सर्वहारा प्रधानमन्त्रीको मण्डले चरित्र फाटेको देखियो ।।
समृद्ध नेपाल सुखी नेपालीको नारा त सुनेकै हो ।
करोड अरवको कमिसनमा त्यो सबै साटेको देखियो ।।
भ्रष्टाचारीको मुख हेर्दिन नयाँ तुक्का शब्दकोषमा ।
आफ्नो अनुहार ऐनामा मज्जाले चाटेको देखियो ।।
नेपाल र नेपालीको भाग्य बदल्छु भन्नेले ।
काखी च्यापी घुसखोरीलाई, जनता ढाँटेको देखियो ।।
मेची काली पहाड तराई जय राष्ट्रबाद ।
बेला बेला उत्तर दक्षिण शीर काटेको देखियो ।।
राजीनामा माग्छन जनता ए प्रधानमन्त्री ज्यू ।
नैतिकता कुन चरी हो ?उल्टै सोध्न आँटेको देखियो ।।

प्रकाशित मिति: २०२०-०२-२५ , समय : २०:२९:५६ , ४ वर्ष अगाडि