कुना गाउँलाई नमुना गाउँ बनाउँछु– कांग्रेस सांसद राई

Enepal Patra Pvt. Ltd. , १७३९  पटक हेरिएको

कानेपोखरी(मोरङ) १० फागुन । प्रदेश नं. १ का प्रदेश सभा सदस्य एवं विपक्षी दलका सचेतक सूयर्माराज राईले मोरङको कानेपोखरी–७ स्थित कुना गाउँलाई नमूना गाउँ बनाउने बताउनु भएको छ ।
शनिबार कुना गाउँमा पुगेर मचिन्द्र दहीझिङ्गे पैनीको स्तरोन्नतिको सुरुवात गर्दै सांसद राईले सो कुरा बताउनु भएको हो । आफू विपक्षी दलको सांसद भएकोले आवश्यकता अनुसार विकास निर्माणका योजना ल्याउन समस्या भइरहेको बताउँदै उहाँले भन्नुभयो – दैनिक जीवनसँग जोडिएको सिंचाईका लागि राजनीति भन्दा माथि उठेर काम गर्नु पर्छ । मैले चुनाव ताका जे बोलेको छु । त्यो पुरा गर्दै जाने छु । सिंचाईको प्रबन्धका लागि यस पटकको बजेटले पुगेन भने आगामी वर्ष पनि थप बजेट ल्याउने उहाँको भनाई थियो । कुना गाउँका किसानको गरा गरामा सिंचाई पु¥याउने प्रतिवद्धता ब्यक्त गर्दै राईले कुना गाउँलाई नमूना गाउँको रुपमा रुपान्तरण गर्न आवश्यक पुर्वाधार तयारीका लागि आफू सधैं साथ मै रहने उल्लेख गर्नुभयो ।
उहाँले सिंचाई र शिक्षा पछि स्वास्थ्यको आधारभूत सेवा विस्तारमा जोड दिने बताउनु भयो ।
अनुगमन समितिका संयोजक मचिन्द्र लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा समाजसेवी एवं राजनीतिकर्मी जयराज संयोक, वार्ड ७ का वडासदस्य दलबहादुर थामीले समेत बोल्नु भएको थियो । शनिबार नै सांसद राईले सोही स्थानमा निर्माण हुने झोलुङ्गे पुल,घले टोल – वरगाछी जोड्ने सडक र चालिस विघे–घले टोल सडकको अनुगमन र निरीक्षण गर्नु भएको थियो । पैनीको स्तरोन्नति,झोलुङ्गे पुल,बरगाछी–घले टोल जोड्ने सडक र घले टोल –चालिस विघे सडक सांसद विकास कोषको बजेटबाट निर्माण हुने भएका छन् ।

प्रकाशित मिति: २०२०-०२-२२ , समय : २१:३३:१२ , ४ वर्ष अगाडि