होचो कदका विष्णुको जोडी मुना मदनको …..

Enepal Patra Pvt. Ltd. , १४५१  पटक हेरिएको

हरि कोइराला,
लेटाङ(मोरङ),४ फागनु । झट्ट देख्नेले विष्णु र सपनाको जोडीलाई कसैले दिदीभाइ भन्छन् त कसैले आमा छोरा । होचो कदका विष्णु मगर ३० वर्षको हुनुभयो । उहाँको तौल २४ किलो छ भने उचाई ४ दशमलव २ इन्च मात्र ।
मोरङको लेटाङ– ६ पब्लिक टोलको मावली घरमा बस्दै आउनु भएका विष्णुले आफू भन्दा अग्ली र ठूली जीवन सङ्गीनी रोज्नु भएको छ । उहाँकी पत्नी सपना लिम्बू पनि ३० वर्षकी हुनुभयो । समान उमेरका भएपनि विष्णु भन्दा सपना डेढ फिट अग्ली हुनुहुन्छ । तौल दोब्बर छ । तर,पनि उहाँहरूको जोडी मुना मदनको भन्दा कम छैन् । विष्णुले भन्नुभयो – फेसबुकमा साथी थियौं । झण्डै ६ महिना कुराकानी भएपछि २०७३ सालमा बिहे गर्ने अवस्थामा पुग्यौं ।
विष्णु र सपनाकी २ वर्षकी छोरी छिन् । छोरी औषत बालबालिका जस्तै छिन् । विष्णुले थप्नुभयो – म मात्रै होचो कदको हुँ । बुबा आमा र बहिनी सबै अग्ला छन् । सपनाको माइती झापाको शिवसतासी नगरपालिका ४ हो । सपनाले भन्नुभयो – आमा म सानै छँदा बित्नु भयो । आमा बितेपछि बुबाले कान्छी आमा ल्याउनु भयो । ५ वर्ष अघि बुबा पनि बित्नुभयो ।’ बुबा बितेपछि कान्छी आमासँगै बस्दै आउनु भएकी सपना सहारा बिहीन जस्तै हुनु भएको थियो । कक्षा ८ सम्म मात्र पढ्नु भएकी सपनाले फेसबुकमा विष्णुलाई भेट्नु भयो । फेसबुकले उहाँहरूलाई प्रेममा डुवायो । सपनाले थप्नुभयो – त्यसपछि भागेर बिबाह ग¥यौ ।
विष्णु र सपनाको जोडी हेर्दा नमिलेको देखिए पनि रोमियो र जुलियट भन्दा कम छैन् । कमाई खाने जग्गा छैन् । मावली घरको बसाई । आमा पनि सँगै हुनुहुन्छ । तर पनि उहाँहरूको जोडी परि आएका सबै काम गर्न कसैलाई गुहार माग्दैन । विष्णु सामाजिक काममा ब्यस्त हुनुहुन्छ भने सपना कृषि र पशुपालनमा सक्रिय हुनुहुन्छ । अपाङ्गता भएका ब्यक्तिहरूको सङ्गठनमा विष्णु वडाको सचिव हुनुहुन्छ । सरकारी र गैर सरकारी संस्थाबाट अपाङ्गता भएका ब्यक्तिहरूका लागि वडामा आएका कार्यक्रमको तर्जुमा विष्णुले नै गर्नुहुन्छ । सानो तर फुर्तिलो शरीर । मावलमा बसे, हुर्केकोले सबैले भान्जा भनी प्यारो गरी बोलाउँछन् , विष्णुलाई । शालिन ढङ्गले प्रस्तुत हुने विष्णुले कक्षा १२ सम्म पढ्नुभयो । तर, जागीर भने खान सक्नु भएन ।
अपाङ्गता भएकाहरू कोही नेत्रहीन हुनुहुन्छ, कोही बहिरा । कोही हिडडुल गर्न सक्नुहुन्न भने कसैको हातले काम गर्दैन । तर, अपाङ्गता भए पनि विष्णु होचो र सानो मात्र हुनुहुन्छ । अरु कोही सपाङ्गता भएका मानिस भन्दा कम हुनुहुन्न विष्णु । त्यसैले धरै जसो कामको जिम्मा उहाँले नै पाउनु हुन्छ । उहाँले भन्नुभयो – हामी जस्ताले गर्न सक्ने काम पनि घेरै छन् । सरकारले राजगारको ब्यवस्था गरिदिए हुने थियो नि ।

प्रकाशित मिति: २०२०-०२-१६ , समय : १०:५४:१२ , ४ वर्ष अगाडि