मन्जुलको मुर्तिकला उर्लाबारी देखि जापान सम्म

मितेरीकोे लय पछ्याउँदै कौशिला

Enepal Patra Pvt. Ltd. , २६९८  पटक हेरिएको

हरि कोइराला
उर्लाबारी , ४ फागुन । डेढ दशक अघि राष्ट्रलाई एक हजार मुर्ति निर्माण गरी सुम्पने घोषणा गर्नु भएका मोरङ,उर्लाबारी–६ का मुर्तिकार मञ्जुल बराइली(मन्जुल मितेरी)ले आफ्नो अभियान १० वर्ष भित्र पुरा गर्न सक्नु भएन । तर, उहाँ अझै पनि थाक्नु भएको छैन् । आफ्नो सङ्कल्प पुरा गर्ने अभियानमा उहाँलाई जीवन सङ्गीनी कौशिला राईले सहयोग गरिरहनु भएको छ ।
ढुङ्गामा छिनोले खोपेर विश्व प्रसिद्ध ब्यक्ति (दार्शनिक, बैज्ञानिक, साहित्यकार र नेता)को आकृति खोज्ने अभियान मै मितेरीले १५ वर्ष बिताइसक्नु भएको छ ।खस्रा ढुङ्गालाई कुँदेर आकृति निकाल्ने काम आफैमा चुनौति पूर्ण हो । तर पनि उहाँ आफ्नो प्रतिवद्धता पुरा हुनेमा ढुक्क हुनुहन्छ । आर्थिक अभाव ,सामाजिक असहयोग र आफ्नै घर खर्चको बैकल्पिक ब्यबस्था गर्न नसकेपछि मञ्जुलले पुन प्रतिवद्धता दोहो¥याउनु परेको हो । उहाँले भन्नुभयो–‘समाज सामु बोलेको कुरा पुरा गर्छु ।आर्थिक उपार्जन र घर चलाउन कठिन भएकोले प्रतिवद्धता पुरा गर्न सकिन । अबको मेरो अर्जुनदृष्टि ५ नै वर्ष जापान बसेर संसारको अग्लो वुद्धको मुर्ति बनाउने र जापानबाट फर्केर ५ वर्ष राष्ट्रलाई सुम्पने मुर्ति बनाउने हो ।’
मुर्तिकार मितेरी ३ वर्षयता आफ्ना सहयोगीका साथ जापानमा रहेर ६५ फिट अग्लो बुद्धको मुर्ति खोपिरहनु भएको छ । विशाल पहरामा कठिन परिश्रम गरेर नेपाली कला र पसिना बेचिरहनु भएका मितेरीलाई केही समय काभ्रेका सानोभाइ विश्वकर्मा, र उदयपुरका रामचन्द्र पण्डितले सहयोग गर्नुभयो । उहाँहरू अहिले नेपाल फर्किसक्नुभयो । हाल धरानका जीवन पौडेल, कानेपोखरीका चतुरलाल राजवंशी र मिक्लाजुङ मोरङका गणेश राई, रामकुमार राई र सुवास बिश्वकर्माले साथ दिइरहनु भएको छ । जापान सरकारले ‘ कुमामोतो’ भन्ने ठाउँमा ६५ फुटको मुर्ति बनाउने जिम्मेबारी दिएको छ । त्यसका अतिरिक्त मितेरीले पहरामा ४५ फुटका २ वटा र ३० फुटका चार वटा मुर्ति निर्माण गर्नु पर्नेछ । मितेरीका अनुसार त्यहाँ बनिरहेको मुर्ति पछिल्लो २ सय वर्षयताको सबैभन्दा ठूलो ढुङ्गाको मुर्ति हो ।

स्वदेशमा कलाको सम्मान नभएपछि बाध्य भएर बिदेशिनु परेको मन्जुलको भनाई छ । उहाँले भन्नुभयो–राष्ट्रबाट सम्मान प्राप्त हुन्छ, सम्मानले दैनिकी नचल्दो रहेछ । २०७२ मा ५० हजार नगद सहितको राष्ट्रिय युवा प्रतिभा पुरस्कार लगायत दर्जन बढी पुरस्कार र सम्मान प्राप्त गरेपनि आफ्नो कलाको मूल्य नपाउँदा मितेरी निरास हुनुहुन्छ ।
एक महिना अघि जापान फर्कनु भएका मितेरीले संस्कृति विषयमा स्नातकोत्तर गर्नु भएको छ । उहाँ भन्नुहुन्छ–ढुङ्गामा कला भर्ने सीप सिकें । संस्कृतिमा डिग्री लिएँ । स्वदेशमा न कलाको सम्मान छ, न पढाई अनुसार जागीर पाइन्छ ।’जापानमा उहाँ दैनिक ८ घण्टा हम्मरले ढुङ्गा माथि छिनो लगाउनु हुन्छ ।र दैनिक १४ हजार नेपाली रुपियाँ कमाउनु हुन्छ । ‘काम कठिन होइन, तर विदेशी भुमिमा आफ्नो सिर्जना बेच्नु पर्दा मन अमिलिन्छ,पीडा बोध हुन्छ । र जीवन बाँच्नका लागि सीप बेच्नै पर्ने रहेछ।’
०६१ साल यता उहाँले २ हजार ५सय वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चित ब्यक्तिहरुको मूर्ति,शालिक र प्रतिमा बनाइसक्नु भएको छ । एक सय वटा सहयोग स्वरुप निशुल्क दान दिनु भएको छ भने ९ सय वटा बिक्री भइसकेका छन् ।
हाल मञ्जुलले बनाएका मूर्तिहरुले संरक्षण खोजिरहेका छन् । मञ्जुल संगं्राहलयको कल्पना गर्नु भएका मितेरीले सुरुमा उर्लाबारी बजारमा संग्राहलय बनाएर राख्नु भएको थियो । तर अहिले जापान जानु पर्ने भएपछि उहाँद्वारा निर्मित मुर्तिको संरक्षण उहाँकी जीवन सङ्गीनीले गरिरहनु भएको छ । उर्लाबारी नगरपालिकासँगै रहेको उहाँको मञ्जुल मुर्तिकला केन्द्रको सबै चाँजोपाँजो जीवन सङ्गीनी कौशिला राईले गरिरहनु भएको छ । कौशिला आफै पनि मुर्ति र शालिक बनाउन सिपालु भइसक्नु भएको छ । ढुङ्गामा भगवान शिवको मुर्ति खोपिरहनु भएकी कौशिलाले भन्नुभयो – उहाँको सङ्कल्प पुरा गर्न म समेत लागेकी हुँ । उहाँ मात्र होइन । मन्जुल मुर्तिकला केन्द्रमा अरु सात जना म्ुर्तिकारहरू आफ्नो सीप ढुङ्गामा भरिरहनु भएको छ । कौशिलाले दोहो¥याएर भन्नुभयो – नेपालमा सिर्जनाको मुल्य छैन् । त्यसैले मन्जुल जापान जानुभयो ।
मन्जुलले बनाएका शालिक मध्ये झापाको गरामुनीमा सुखानी काण्डका ६ सहिद र ताप्लेजुङको घुन्सामा दुर्घटनामा परी मरेका तत्कालीन बन मन्त्री र वन विज्ञहरू सहित २४ जनाको शालिक अत्यन्तै लोभलाग्दो र आकर्षक रहेको चर्चामा छ । परिवारका कुनै सदस्य पनि मूर्तिकला प्रति लगाव नभएपनि मञ्जुल महान कलाकार अरनिको जीवनी पढेर मूर्ति बनाउन थालेको बताउँनु हुन्छ ।
जुँघाको रेखी बस्दै गर्दा छिनो र हतौडा बोकेर ढुङ्गा खोप्न सुरु गर्नुभएका मन्जुल अहिले ४२ वर्षको हुनुभयो । आर्थिक रुपमा समृद्ध नभई राष्ट्रका लागि केही गर्न नसकिने निष्कर्षमा पुग्नु भएका मन्जुलले भन्नुभयो–ढुङ्गा किन्न सक्ने भएर आउँछु अनि प्रत्येक तीन दिनमा एउटा मुर्ति बनाएर,इतिहास बनाएरै छोड्छु ।’

प्रकाशित मिति: २०२०-०२-१६ , समय : १०:२८:४४ , ४ वर्ष अगाडि