शनिवार उर्लाबारी बजार बन्द हुँदा ४० लाख भन्दा बढी घाटा

Enepal Patra Pvt. Ltd. , ८२९  पटक हेरिएको

उर्लाबारी , १ फागुन । उर्लाबारी नगरपालिकाका मेयर खड्गबहादुर फागोले उर्लाबारी बजार शनिवार बन्द हुँदा साप्ताहिक रुपमा ४० लाख भन्दा बढी रुपैयाँ छिमेकी बजारमा गएको बताउनु भएको छ ।
उर्लाबारी–५ मा खुलेको सुविधा सम्पन्न होटल आकृति एण्ड रेस्टुरेन्टको बुधबार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । निजामति कर्मचारी, शिक्षक,विद्यार्थीले हप्तामा एकदिन शनिवार बिदा पाउँछन् । त्यो दिन पनि बजार बन्द हुँदा उर्लाबारीको पैसा बाहिरिएको भन्दै शनिबार हुने बजार बन्दले उर्लाबारीलाई घाटा भएको उल्लेख गर्नुभयो । ठूला उद्योगधन्दा भएको ठाउँमा श्रमिकले सातामा एकदिन बिदा पाउन भनेर साप्ताहिक रुपमा बजार बन्द गराएको उहाँको भनाई थियो । उहाँले उर्लाबारी सहरीकरण हुँदै गएको बताउँदै उर्लाबारीमा आउने पाहुनाले रोजेका खाना दिन सक्ने होटलको आवश्यकता होटल आकृतिले पुरा गर्नुपर्ने बताउँनु भयो । मेयर फागोले ब्यावसायिक सुरक्षाको आवश्यकतामा जोड दिँदै साना ब्यवसायीलाई कर थोपरेर मात्र स्थानीय निकाय धनी नहुने बताउनु भयो । ब्यवसायिलाई बैधानिक ढङ्गले ब्यापार गर्ने वातावरण तयार गर्न स्थानीय सरकार तयार रहेको उहाँको भनाई थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै उर्लाबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रीतम खड्गीले उर्लाबारीमा आउने पाहुनालाई उर्लाबारी मै राख्न सकिने खाल्का होटलहरू खुल्नु खुसीको कुरा हो भन्नुभयो । दमक ७ का लक्ष्मी दाहाल सहित उर्लाबारीका केहि युवा व्यावसायीहरुले होटल सञ्चालनमा ल्याउनु भएको हो । भ्रमण वर्ष २०२० को शुभारम्भसँगै सञ्चालनमा आएको होटल आकृतिले एकै पटक एक सय जना पाहुनालाई सेवा दिन सक्ने होटलका सञ्चालक दाहालले बताउनु भयो ।

दाहालका अनुसार होटलमा थकाली खाना, स्थानीय जातका कुखुराको मासु,सिंङ्गै कुखुरा पोलेर खाने व्यवस्था मिलाईएको छ । होटलमा आएका अतिथिले सिंधै किचनको सफाइ व्यवस्थापन समेत अवलोकन गर्न सक्ने सञ्चालकहरुको भनाइ छ । रेस्टुरेन्टको बीचमा किचन राखिएको छ ।उर्लाबारी आउने पाहुनाले नयाँ के खान पाउँछन् भन्ने जिज्ञासामा सञ्चालक दाहालले भन्नुभयो – तन्दुरी रोटी, चिकेन तन्दुरी ,विभिन्न फ्लेवरमा हुक्का ,पोलेको सिंगो लोकल भाले हाम्रा आकर्षण हुन् ।

उर्लाबारीको मालवाँसे पम्प उत्तर रहेको होटल आकृतिमा सुविधा सम्पन्न सभाहल समेत उपलब्ध छ ।होटलमा १० जनाले रोजगार पाउने सञ्चालक दाहालले बताउनु भयो ।

प्रकाशित मिति: २०२०-०२-१३ , समय : २१:२२:५७ , ४ वर्ष अगाडि