गाडी रोक्दै औषधि खुवाउँदै

Enepal Patra Pvt. Ltd. , १४३५  पटक हेरिएको

हरि कोइराला,
पथरीशनिश्चरे(मोरङ), २५ माघ । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. ७ का वडाध्यक्ष कपिलमणि ढकाल शनिबार सडकमा उभिएर गाडी रोकिरहनु भएको थियो ।
उहाँले कसैलाई चढाउन वा ओराल्न गाडी रोक्नु भएको थिएन । नगरको पथरी– डाइनियाँ सडक खण्ड अन्तरगत किराँती चौकमा वडा नं. ७ को कार्यालय छ । उहाँले बिहान १० बजे देखि अपरान्ह सम्म कार्यालय अगाडि उभिएर गाडी रोक्दै यात्रुहरूलाई हात्तीपाइलेको औषधि खुवाउँदै गन्तब्य तिर पठाउनु भयो । साइकल,टेम्पो, अटो रिक्सा,मोटरसाइकल र बस मात्र होइन । पैदल यात्रीलाई पनि रोकेर उहाँले औषधि खुवाउन प्रेरित गर्नुभयो ।
को १८ प ३७८२ नम्वरको मोटरसाइकलमा सवार बलबहादुर नेम्वाङले औषधि नखान धेरै जिद्दी गर्नुभयो । तर, स्वास्थ्यकर्मी प्रेमलाल लिम्बू र वडाध्यक्ष ढकालले औषधिका कारण बिरामी भए उपचारको जिम्मा लिने भनेपछि उहाँले औषधि खानुभयो ।
८४ वर्षीय रुद्रबहादुर कार्कीले कुनै शंका नगरि औषधि खानु भयो । उहाँले भन्नुभयो–हात्तीपाइले रोग देखेको छु । यति औषधि खाँदा रोग लाग्दैन भने किन नखाने ? उहाँले अझै धेरै वर्ष बाँच्ने ईच्छा रहेको बताउनु भयो । वडाध्यक्ष ढकालले सडकमा गुडिरहेका गाडी र यातायातका साधन रोक्दा धेरैले आश्चर्य मान्नु भयो । तर, जनप्रतिनिधि भएपछि सबै वडाबासीलाई निरोगी बनाउने आफ्नो दायित्व सम्झेर अभियानमा लागेको उहाँको भनाई छ ।

प्रकाशित मिति: २०२०-०२-०९ , समय : ०८:३६:२८ , ४ वर्ष अगाडि