पूर्वी मोरङमा एकै पटक ठूला लगानीका तीन होटल सञ्चालनमा

Enepal Patra Pvt. Ltd. , ९१६  पटक हेरिएको

हरि कोइराला,
उर्लाबारी, २२ माघ । पूर्वीमोरङका दुई छिमेकी नगरमा १५ दिनको बीचमा तीन वटा ठूला लगानीका होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएका छन् ।
होटल तथा रेस्टुरेन्ट भ्रमण वर्ष २०२० लाई लक्षित गरी खोलिएको सञ्चालकहरूको भनाई छ । उर्लाबारी ३ किसान चौकमा पाँच जना युवा ब्यवसायीहरूले दुई साता अघि होटल ड्रिम्स एण्ड रेस्टुरेन्ट सञ्चालनमा ल्याउनु भएको थियो । होटलमा १ करोड ७० लाख रुपियाँ लगानी भएको सञ्चालक पूर्ण सिंघक लिम्बूले बताउनु भयो । ७० जना पाहुनालाई एकै पटक सेवा दिन सक्ने क्षमताको होटलमा अति सुविधा सम्पन्न १० कोठा र साधारण २५ कोठाको ब्यवस्था छ । उर्लाबारी वरिपरिका पर्यटकीय केन्द्र वेतना सिमसार , मत्स्य पर्यटन केन्द्र , मिक्लाजुङ,नेसेलुङ डाँडा लगायतका पर्यटकीय केन्द्र सम्म पाहुनालाई पु¥याउँने र ल्याउँने समेतको ब्यवस्था होटलले नै ब्यवस्थापन गर्ने भएको छ ।
होटलमा उर्लाबारीको विनय च्याउ उद्योगबाट उत्पादित च्याउबाट बनेका खाद्य परिकारको स्वाद लिन सकिने सञ्चालक सिंघकले बताउनु भयो । होटल ड्रिम्समा सिंघक सहित उदय श्रेष्ठ, बोधराज श्रेष्ठ, टीकाराज भण्डारी र पदम राईको लगानी रहेको छ । होटल सञ्चालनमा आए पनि औपचारिक उद्घाटन भने प्रणय दिवसको दिन गरिने छ । होटलले हाल १५ जनालाई रोजगार दिइरहेको छ ।
यस्तै नेपाली तारा सिजन ३ का विजेता प्रताप लामा र उर्लाबारीका नितन चौहानले माघ ८ गते ३ करोड रुपियाँ लगानी गरी टोटला सांगितिक रेस्टुरेन्ट सञ्चालनमा ल्याउनु भएको छ । उर्लाबारीको मस्त बजारमा सञ्चालनमा आएको रेस्टुरेन्ट संगितका पारखीहरूलाई केन्द्रीत गर्दै सञ्चालनमा ल्याइएको सञ्चालक प्रताप लामाले बताउनु भयो । गीत संगीतका क्षेत्रमा एउटा उचाई कायम गरिसक्नु भएका लामाले संगीतलाई होटल ब्यवसाय र रोजगारसँग जोड्न रेस्टुरेन्ट सञ्चालनमा ल्याएको बताउनु भयो ।
बालबालिका, बुढापाका र तन्नेरीहरूका लागि बेग्ला बेग्लै कक्ष सहतिको रेस्टुरेन्ट १५ सय पाहुनाले एकै पटक सेवा लिन सक्ने क्षमताको भएको उहाँहरूको दाबी छ । गायक लामाले भन्नुभयो – भ्रमण २०२० लाई सफल बनाउन हामे सेवाको विशेष भूमिका हुनेछ । उच्च पदस्थ ब्यक्तिहरू आउँदा झपाको दमक सम्म पाहुना लिएर जानु नपरोस भन्ने हामे उदेश्य हो ।
यता मोरङको पथरीशनिश्चरेमा होटल साल्पा सञ्चालनमा आएको छ । ब्यवसायी अशोक राईको ३ करोड रुपियाँ लगानीमा होटल माघ १७ देखि सञ्चालनमा आएको हो । आफ्नै भवनमा सञ्चालनमा आएको होटल पूर्व कै सुबिधा सम्पन्न होटल भित्र पर्ने सञ्चालक राईले दाबी गर्नुभयो ।

प्रकाशित मिति: २०२०-०२-०५ , समय : १८:५५:०८ , ४ वर्ष अगाडि