लसुन र कुखुराको मासुको मूल्य दुई गुणा बढ्यो

Enepal Patra Pvt. Ltd. , ५६३  पटक हेरिएको

काठमाडौं , २० माघ। प्याजको मूल्य वृध्दिकाे मारमा परेका उपभोक्ता मूल्य घटन नपाउँदै लसुन र बोइलर कुखुराको मासुको मूल्य बढ्दा मारमा छन् । दैनिक उपभोग्य सामानको मूल्य बेला बेलामा एक्कासि आकासिनु रहस्यमय छ । बोइलर कुखुराको मासु, लसुन लगायत दैनिक उपभोग्य वस्तुको उच्च रुपमा बढेको छ । २५ दिन अघि २६० रुपियाँमा पाईने हाल खुद्रा बजारमा कुखुराको मासुको मूल्य प्रतिकेजी ४०० रूपियाँ भन्दा माथि पुगेको छ ।
नेपाली बजारमा मासु मात्रै होईन लसुनको मूल्य आकासिएको छ । करिब २० दिन अघि लसुनको मूल्य प्रतिकिलो २५० देखि २८० रूपियाँ आसपास रहेकोमा अहिले बजार मूल्य ५०० रूपियाँ प्रतिकेजी पुगेको छ ।
चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द हुँदा लसुनको मूल्य बढेको व्यवसायीहरूको भनाई छ । नाका बन्द रहेकाले लसुन आयात गर्न नसकिएको कारण देखाउँदै लसुनको मूल्य तत्काल नघटने उनीहरूको भनाई छ ।
तर यता उपभोक्ताबादीले अहिले बजारमा मासु र लसुनको मूल्य बढनु प्रमुख कारण कालाबजारी गर्नेको चलखेल रहेको बताउँछन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन विगतदेखि कालो बजारी गर्न पल्किएकाहरुको कारण बजारभाउ आकासिएको बताउनुहुन्छ ।
केही समय अघि कुखुराको चल्ला मार्ने काम नियोजित रुपमा गरिएको भन्दै कालोबजारीका माफियाहरुलाई कारवाही नगरे सम्म यो चलिरहने उहाँको ठहर छ ।
सरकारलाई असफल बनाउन केही राजनीतिकदल माफियासँग मिलेर कालोबजारीमा लागेको समेत अध्यक्ष महर्जनको भनाई छ । यता कुखुरा उत्पादक संघका अध्यक्ष झनक पौडेल ठुला कोल्ड स्टोरका विचौलियाका कारण मासुको मूल्य आकासिएको आरोप लगाउनुहुन्छ । विगतदेखि कोल्ड स्टोरका मालिकहरूले किसानसँग कुखुरा छैन् भनेर मूल्य बढाउने गरेको उहाँको आरोप छ ।
मासुको मुल्य बजारमा सन्तुलन राख्न ठुला कोल्ड स्टोरका विचौलियालाई सरकारले कारवाही गर्नु पर्ने उहाँको भनाई छ । किसानले जहिले पनि बजार मूल्य नपाउने र विचौलियाहरु सधै मोटाउने रहेको अवस्था रहदै आएको उहाँबताउनुहुन्छ ।

प्रकाशित मिति: २०२०-०२-०३ , समय : १९:३०:३० , ४ वर्ष अगाडि