पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पु¥याइने

Enepal Patra Pvt. Ltd. , ७८२  पटक हेरिएको

हरि कोइराला,
सुन्दरहरैंचा(मोरङ),१९ माघ । पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले मुलुकको राष्ट्रिय आयमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पु¥याइने बताउनु भएको छ । हाल ३ प्रतिशत योगदान रहेको पर्यटन क्षेत्रको योगदान १५ औं पञ्चवर्षीय योजनामा ७ प्रतिशत बढाएर १० प्रतिशत पु¥याइने उहाँको भनाई थियो ।
विश्व सिमसार दिवसको अवसरमा मोरङको सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ५ स्थित हसिना सिमसार क्षेत्र संरक्षण तथा पर्यटन विकास संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । स्थानीय तहले सिमसार क्षेत्रबाट जतिसक्दो बढी आर्थिक लाभ लिनु पर्नेमा जोड दिँदै मन्त्री भट्टराईले सिमसारहरूलाई पर्यटकीय केन्द्रको रुपमा बिकसित गर्नु पर्ने बताउनु भयो ।
१५ हजार किलोमिटर क्षेत्र पार गरी साइबेरियादेखि नेपालका सिमसार क्षेत्रमा चरा आउने उल्लेख गर्दै उहाँले पर्यटकीय क्षेत्रमा प्रशस्त सम्भावना भए पनि त्यसलाई आर्थिक आय साग जोड्न नसकिएको प्रति दुख प्रकट गर्नुभयो । सिमसार र तालतलैयालाई मात्रै जोगाउन सके तराईको तापक्रममा ४ डिग्री सेन्टिग्रेड सम्म घट्ने उल्लेख गर्दै उहाँले पानीको स्थायी स्रोत बचाउन सकेमात्र मानव जाति बाँच्न सक्ने बताउनु भयो । मन्त्री भट्टराईले सिमसार र प्राकृतिक तालहरूको संरक्षण गर्न तीनै तहका सरकारहरूले सहयोग गर्नु पर्ने बताउँदै सिमसार र तालहरू किसानको दैनिकीसँग जोडिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा आयोजकले हस्तान्तरण गरेको हसिनाको विकासको लागि तयार पारिएको विस्तृत परियोजना डीपीआर ग्रहण गर्दै भट्टराईले मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन समेत दिनुभयो ।
महोत्सव मूल समारोह समितिका संयोजक ज्ञानेन्द्र ओझाको सभापतित्वमा भएको कार्यक्रममा पूर्व मन्त्री लालबाबु पण्डित,संस्थाका संस्थापक अध्यक्ष घनश्याम न्यौपाने, सुन्दरहरैंचा वडा नम्बर ५ का अध्यक्ष रामप्रसाद रिजाल र संस्थाका अध्यक्ष कविराज राईले बोल्नु भएको थियो । कार्यक्रममा कार्यक्रममा धरानको गरिमा डान्स सेन्टरका साथै स्थानीय कलाकारले गीत तथा नृत्य र दोहोरी प्रस्तुत गरेका थिए । महोत्सवको उद्घाटन पूर्व विभिन्न जनजातिको झाँकी प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति: २०२०-०२-०३ , समय : ०८:१९:३६ , ४ वर्ष अगाडि