विपन्न साना किसान मोटरपम्प पाएपछि दङ्ग

Enepal Patra Pvt. Ltd. , १४९०  पटक हेरिएको

हरि कोइराला,
पथरीशनिश्चरे(मोरङ), १५ माघ । मोरङको पथरीशनिश्चरे ८ बागडुग्राका रत्नबहादुर विश्वकर्माको ८ कठ्ठा जग्गा छ । पैनी , कुलो नलाग्ने जग्गामा आकासे पानीको भरमा खेती लगाउँदा कहिल्यै लगानी उठ्दैन । आफ्नो श्रमको हिसाव नै छैन् ।
वर्षौं देखि ऐलानी पाखोवारी सम्हाल्दै आउनु भएका रत्नबहादुरलाई यो बल्ल गणतन्त्र आएको महसुस भयो । वडा कार्यालयले विभिन्न सात वटा समूह बनाएर डाडाँ खेतमा सिंचाई गर्न मोटरपम्प दिएपछि रत्नबहादुर निक्कै खुसी हुनुहुन्छ । उहाँले मङ्गलबार वडा कार्यालयमा मोटरपम्प पाएपछि भन्नुभयो–पानीको अभावमा बाली लगाउन पाएका थिइन् । अब आफूलाई वर्षभरि खान पुग्ने धान सम्म उत्पादन गर्न सक्छु भन्ने लागेको छ ।
रत्नबहादुर मात्र होइन । सोही वडाका यमबहादुर खड्का पनि मोटरपम्प पाए पछि ढुक्कले वर्खे र चैते धान रोप्ने योजना बनाइरहनु भएको छ । खड्काले भन्नुभयो – विकासले गर्दा डाँस खोलो गहिरिएर गयो । अहिले खोलाको पानी खेतमा चढ्दैन । न वर्षायाममा न त हिउँदमा खेतमा पानी लाग्दैन थियो । वडाले सामूहिक रुपमा ४ जना किसानलाई ३ हर्षपावरको मोटरपम्प दिएपछि उहाँ पनि बाली लगाएर उत्पादन बढाउनेमा आशावादी हुनुहुन्छ ।
अझ नरबहादुर श्रेष्ठको त जम्मा ३ कठ्ठा जग्गा । त्यो पनि ऐलानी । उहाँ त्यही जग्गा रुँगेर साडे ३ दशक देखि बसिरहनु भएको छ । नखाउँ भने दिनभरिको शिकार खाउ भने कान्छन बाउको अनुहार जस्तै थियो, ३ कठ्ठा जमीन । बेचेर हिड्यौं, ऐलानी जमीनको मूल्य छैन् । बसिरहौं । माटोले मात्र खान नदिने । बाली लगाउन पानी छैन् । श्रेष्ठले पानी हुँदा ३ कठ्ठा जमीनमा उतपादन भएको अन्नले ५ जनाको परिवारलाई वर्षभरि खान पुग्ने उहाँको ठम्याई छ ।
नगरपालिकाले वडा नं ८ लाई विनियोजन गरेको ३ लाख रुपियाँ बजेटबाट २१ बिगाहा जमीन सिंचित हुने गरी २८ किसानलाई मोटरपम्प, आवश्यक पाइप र ट्युववेल प्रदान गरेको वडाध्यक्ष बाबुराम दाहालले बताउनु भयो । दाहालका अनुसार किसानले विद्युत खर्च र गाड्ने ज्याला आफै उपलब्ध गराउने छन् । साना किसानलाई धान वा अन्न उत्पादन भन्दा तरकारी उत्पादनमा सहभागि गराउने उदेश्यले अनुदानमा मोटरपम्प वितरण गरिएको दाहालको भनाई छ । वडाले मोटरपम्प पाएका किसानलाई माघ अन्तिम साता देखि तरकारी खेती सम्बन्धी तालिम,तरकारीको बीउ र माटो अनुसार लगाउन सकिने तरकारी छनौट गरिदिने समेत वडाध्यक्ष दाहालले बताउनु भयो ।

प्रकाशित मिति: २०२०-०१-२९ , समय : १९:०७:१७ , ४ वर्ष अगाडि