प्रदेश १ मा ६ महिना सकिदा १६.२६ प्रतिशत मात्र विकास खर्च

Enepal Patra Pvt. Ltd. , ५६३  पटक हेरिएको

विराटनगर, १३ माघ । प्रदेश नं. १ को बजेट कार्ययोजना अनुसार खर्च हुन नसकेको पाइएको छ । चालु आर्थिक वर्ष २०७६÷०७७ को ६ महिना सकिदा कूल बजेटको १६ दशमलव २६ प्रतिशत विकास बजेट खर्च भएको छ । चालुु खर्च तर्फ १२ दशमलव ३३ प्रतिशत र पुँजीगत खर्चतर्फ १९ दशमलव ३७ प्रतिशत खर्च भएको हो ।
हिउँद भरि शिलान्यास र उद्घाटनमा हिड्ने सरकारका मन्त्रीहरूले बजेट कार्यान्वयनमा तल्लो तहलाई आवश्यक निर्देशन नदिँदा बजेट खर्च हुन नसकेको सांसदहरू बताउँछन् । गत आर्थिक वर्षमा पनि बजेट खर्च गर्न नसकेको प्रदेश सरकारले चालु वर्षमा सुधारका लागि सबै मन्त्रालयलाई कार्ययोजना बनाएर बजेट खर्च गर्न निर्देशन दिएको थियो ।

सरकारको निर्देशनअनुसार मन्त्रालयले बजेट कार्यान्वयनको खाका तयार पारेर सार्वजनिक समेत गरेका थिए । तर मन्त्रालयहरुले कार्य योजनालाई पछ्याउन नसक्दा आधाबर्षका अवधिको विकास खर्चको अवस्था ज्यादै निराशाजनक छ । मुख्यमन्त्री शेरधन राई मातहतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदानमा आधारित कुनै पनि कार्यक्रम कार्यान्वयन हुन नसकेको प्रदेश लेखा नियन्त्रण कार्यालय विराटनगरका सूचना अधिकारी कुमार आचार्यको भनाइ छ ।

आर्थिक वर्षको आधा समय गुज्रिँसक्दासमेत बजेट कार्यान्वयनको अवस्था न्यून देखिनुले सरकारले कार्यान्वयन गर्न सकिने योजना ल्याउन नसकेको प्राध्यापक डाक्टर अर्जुन बराल बताउनु हुन्छ ।
यता मुुख्यमन्त्री शेरधन राई पनि पहिलो चौमासिक खर्चप्रति सन्तुुष्ट देखिनु भएको छैन् । पहिलो चौमासिकको समीक्षा गर्दै दोस्रो चौमासिकमा प्रगति गर्ने लक्ष्य रहेको मुख्यमन्त्री राईको धारणा छ ।
आर्थिक वर्षको अन्त्यतिर हतार हतारमा विकासका काम गर्ने प्रवृत्ति अन्त्य गर्न प्रदेश सरकारले बजेट खर्चको कार्यतालिका तयार गरे पनि तालिकाअनुसार काम भने भएको देखिदैन ।

प्रकाशित मिति: २०२०-०१-२७ , समय : ०९:१२:४२ , ४ वर्ष अगाडि