नेविसङ्घ मोरङका पूर्व नेताहरू काङ्ग्रेस सुद्धिकरण अभियानमा

Enepal Patra Pvt. Ltd. , १८५५  पटक हेरिएको

हरि कोइराला
सुनवर्सी(मोरङ), ११ माघ । नेपाल विद्यार्थी सङ्घ मोरङका पूर्व नेताहरूले मातृ पार्टी नेपाली काङ्ग्रेसको सुद्धिकरण र सुदृढीकरणका लागि अभियान सुरु गरेका छन् । यस अघि पुस २३ गते मोरङको विराटचौकमा भएको पूर्व विद्यार्थी नेताहरूको भेलाले आजको कार्यक्रम तय गरेको थियो ।
शनिबार मोरङको सुनवर्सी ९ डाइनियाँ स्थित वीपी कोइराला सेवा केन्द्रमा भएको कार्यक्रममा नेताहरूले १४ वुँदे सङ्कल्प प्रस्ताव पारित गर्दै सुद्धिकरण अभियान सुरु गरेका हुन् । १४ बुँदे सङ्कल्प प्रस्तावमा पार्टीको नीति तथा कार्यक्रम र आदर्शका विषयमा नियमिति छलफल गर्ने ,पार्टीमा एउटै ब्यक्तिले लगातार जातीय आरक्षण पाउने विषयलाई रोकेर आरक्षण नयाँ पुस्तामा सार्दै लग्ने उल्लेख छ । यस्तै एउटै ब्यक्तिलाई दोहोरो , तेहोरो जिम्मेवारी दिने र वारम्वार एकै ब्यक्तिलाई संसदीय र स्थानीय निकायमा उम्मेद्वार बनाउने पार्टी नेतृत्वको शैली परिवर्तन गर्नका लागि दवाव दिने भनिएको छ । पैसा र पाखुराको बलमा राजनीति गर्ने संस्कार बिकसित भएको भन्दै काम र भूमिकाका आधारमा अवसर दिने परिपाटीको विकास गर्न नेविसङ्घका नेताहरूले दवाव दिने बताउनु भएको छ । कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी सङ्घका पूर्व नेता एवं प्रदेश नं १ प्रदेश सभामा प्रतिपक्षी दलका सचेतक सुयर्माराज राईले पार्टीमा पैसा नहुनेले चुनावमा प्रतिस्पर्धा गर्न गाह्रो हुँदै गएको बताउनु भयो । उहाँले पार्टीमा सैदान्तिक भन्दा चाकरी र नेताको वरिपरि घुम्ने चलन हाबी हुँदै गएकोमा चिन्ता प्रकट गर्नुभयो । अर्का नेता रञ्जन थापाले पार्टीले उम्मेद्वार छान्न नसक्दा देशै भरि लज्जास्पद हार ब्योहोर्नु परेको बताउनु भयो । पार्टीका पुराना र नयाँ नेतालाई संयोजन गर्न नेतृत्वले नसकेको उहाँको आरोप थियो ।
नेविसङ्घका पूर्व नेता एवं कांग्रेस महासमिति सदस्य जयराज संयोक लिम्बूले कांग्रेस आकासमा उड्दा उड्दै इन्धन सकिएको जेट बिमान जस्तै भएको बताउनु भयो । उहाँको भनाई थियो – त्यसको सुरक्षित अवतरणको जिम्मा पूर्व नेविसङ्घले लिनुपर्छ । पार्टी भेग भइसक्यो । सबैखाले मानिस अटाएका छन् । तर नेविसङ्घबाट कांग्रेस बनेकालाई मात्र पार्टीको माया छ ।
कार्यक्रममा नेविसङ्घका राजनीतिबाट रतुवामाई नगरपालिकाको मेयर बन्नु भएका रविन राई, स्नातकोत्तर क्याम्पस विराटनगरका पूर्व स्ववियू सभापति शंकर भट्टराई, तेजेन्द्र भट्टराई ,राजकुमार कोइराला, राजु मास्के,भीम रिजाल, लगायतका नेताले बोल्नु भएको थियो । कार्यक्रममा २०४६ पछि विभिन्न समयमा नेतृत्वमा बसेका यदु विष्ट,ज्ञानेन्द्र ढकाल,मुक्तिप्रकाश न्यौपाने,मानबहादुर लिम्बू,मदन संग्रौला, ललित श्रेष्ठको उपस्थिति रहे पनि उहाँहरूले कुनै प्रतिक्रिया जनाउनु भएन ।
स्मरण रहोस नेविसङ्घ मोरङका पूर्व नेताहरूले पार्टीमा सुद्धिकरण र सुदृढिकरण अभियान चलाइरहेका बेला मातृ पार्टी नेपाली काङ्ग्रेसले नेविसङ्घको केन्द्रीय सभापतिमा ५५ वर्षका राजीव ढुङ्गानालाई शनिवार टीको लगाइदिएको छ ।

प्रकाशित मिति: २०२०-०१-२५ , समय : २०:०३:५२ , ४ वर्ष अगाडि