स्थानीय मिडियाको संरक्षण स्थानीय सरकारले गर्छ – उपाध्यक्ष दाहाल

Enepal Patra Pvt. Ltd. , ९४१  पटक हेरिएको

हरि कोइराला,
बेलबारी(मोरङ), ११ माघ । राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले शुसासनलाई संस्थागत गर्न सामूदायिक रेडियोहरूको महत्वपूर्ण भुमिका रहेको बताउनु भएको छ । शुक्रबार मोरङको बेलबारीमा संयन्त्र सञ्चार सहकारी संस्था लि.द्वारा सञ्चालित रेडियो बेतनाको सातौं स्थापना दिवशको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
पछिल्लो समय सामूदायिक रेडियोहरू सङ्कटमा परेको बताउँदै उपाध्यक्ष दाहालले भन्नुभयो – अब नगर, गाउँका रेडियो लगायतका सञ्चार माध्यम जोगाउने जिम्मा स्थानीय सरकार हो । उहाँले रेडियोहरूले गाउँघरको आवाज बोल्नु पर्नेमा जोड दिँदै महिला,विपन्न, अल्पसङ्ख्यक र पछाडि पारिएकाहरूलाई राज्यको मूलधार सम्म पु¥याउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । पढ्न, लेख्न नजान्नेहरूका लागि रेडियो गतिलो सञ्चार माध्यम भएको बताउँदै दाहालले भन्नुभयो – अब रेडियो सुन्ने स्रोता नै आमा , बुबा र हजुरबुबा आमा हुनु भएको छ । उहाँहरूले मात्र सुन्ने रेडियोका कार्यक्रम आमा वुवा मैत्री बनाउनु होस । ’
एक फरक प्रसङ्गमा उहाँले सरकारले ल्याएका सबै कार्यक्रम राम्रा नहुने बताउनु भयो । उहाँले नराम्रा भए तिनलाई सच्याएर जान सकिने भएकोले ति विषयमा धेरै तर्क गरिरहन आवश्यक नभएको बताउनु भयो । संसद र समितिहरूमा छलफलमा भएका विधेयकहरू नागरिक मैत्री नै हुने उहाँको भनाई छ ।
कार्यक्रममा संविधान सभा सदस्य एवं पूर्व राज्य मन्त्री दिलिपकुमार गच्छदार, प्रदेश नं. १ को प्रदेश सभामा विपक्षी दलका प्रमुख सचेतक केदार कार्की, सचेतक सुयर्माराज राई , प्रदेश सभा सदस्य लोकप्रसाद संग्रौला,बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी , नेकपा बेलबारीका अध्यक्ष पर्शुराम सुवेदी र उद्योग बाणिज्य सङ्घ बेलबारीका उपाध्यक्ष राजेश जङ्ग कार्कीले बोल्नु भएको थियो । कार्यक्रममा बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुबेदी,सुन्दरहरैचाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल र सामाजिक अभियन्ता महेन्द्र सुबेदी र खेलाडी मिलन राईलाई सम्मान गरिएको थियो । यस्तै शान्ति भगवती मावि लेटाङ,धिमाल जाति विकास केन्द्र बेलबारी र ज्येष्ठ नागरिक समन्वय समितिलाई सम्मान गरिएको छ । संस्थाका अध्यक्ष भोजराज बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमले प्रस्तावित आय ब्यय र आगामी वर्षको कार्ययोजना समेत पारित गरेको छ । सञ्चार सहकारी संस्थामा १४४ जना शेयर सदस्य रहेका छन् ।

प्रकाशित मिति: २०२०-०१-२५ , समय : १९:४४:०५ , ४ वर्ष अगाडि