परिवारै पशुपालनमा , वार्षिक साडे ६ लाख आम्दानी

Enepal Patra Pvt. Ltd. , २४६५  पटक हेरिएको

 

हरि कोइराला,
पथरीशनिश्चरे(मोरङ),१० माघ । टाट्नाभरि २२/२५ वटा खसी,बाख्रा । २ हजार ५ सय भन्दा बढी ब्रोइलर कुखुरा, सुविधा सम्पन्न खोरमा ३५/४० वटा उन्नत जातका बङ्गुर । बिहान देखि साँझसम्म तिनकै स्याहार सुसारमा दैनिकी बित्ने गर्छ मोरङको पथरीशनिश्चरे ५ भोटेघुम्तीका गिरी दम्पतीको ।
६० वर्ष पुग्नै लागेका गिरी दम्पती मात्र होइन । दुई छोरा, दुई बुहारी र दुई जना कामदारले पनि उहाँहरूलाई काममा भरथेग गर्नुहुन्छ । उहाँहरूको सबै थोक तिनै पशुपंक्षी हुन् । ११ वर्ष साउदीअरब बसेर स्वदेश फर्किएपछि भीमप्रसादले २०६३ मा ब्रोइलर कुखुरा पाल्न थाल्नुभयो । उसबेलाको थोरै कमाई । उहाँले केही जग्गा जोड्नु भयो । बाँकी पैसा व्यवसायमा लगाउनु भयो । ३० हजार रुपियाँ लगानी गरी सुरु गरेको व्यवसायबाट उहाँले अझै पछि हट्नु परेको छैन् । पशुपालन नै गर्नु परेपछि किन कुखुरा मात्रै पाल्ने भनेर उहाँले बाख्रा र बङ्गुरपालन सुरु गर्नुभयो ।
अहिले १ विगाहा जमीनमा बाख्रा, कुखुरा र बङ्गुर पालनका लागि बेग्ला बेग्लै खोर बनाएर उहाँले व्यवसाय गरिरहनु भएको छ । कुखुरापालन सुरु गरेको ८ वर्षपछि उहाँले बङ्गुर पाल्न थाल्नु भएको हो । जब बङ्गुरपालन सुरु गर्नुभयो । त्यसपछि उहाँले आफ्ना दुबै छोरालाई बैदेशिक रोजगारबाट फिर्ता बोलाउनु भयो । ३३ वर्षीय जेठो छोरा रमेश कतारबाट र ३१ वर्षीय कान्छो सुजन दुवईबाट फर्किए । स्वदेश मै कृषिकर्ममा लाग्ने सल्लाहपछि उहाँहरूले क्रमस लगानी बढाउँदै लानुभयो । भीमप्रसादले भन्नुभयो–६० लाख रुपियाँ लगानी भइसक्यो । अहिले बङ्गुरमा ५० लाख , कुखुरामा ८ लाख र बाख्रामा २ लाख रुपियाँ लगानी भइसकेको छ । जति कमाई हुन्छ, त्यो सबै व्यवसाय बिस्तार मै लगाई रहेको छोरा सुजन बताउनु हुन्छ । सुजनले भन्नुभयो – सबै खर्च कटाएर वार्षिक ६ लाख ५० हजार आम्दानी भइरहेको छ ।
ब्रोइलर कुखुराको माग थपघट भइरहे पनि बङ्गुरका पाठा–पाठी(बुचा र भूनी)
को माग एउटै दरमा हुने गर्छ । सुजनले भन्नुभयो – मासु प्रयोजनका लागि बङ्गुर उत्पादन गर्दैनौं । माग अनुसार बुचाभुनी उत्पादन गर्न सकेका छैनौं । २२ वटा माउले सरदर १० वटाका दरले बच्चा जन्माउँछन् । ३ महिनाको भएपछि ८ सय देखि हजार रुपियाँ सम्ममा पाठा पाठी बिक्री हुने गरेको सुजनले बताउनु भयो । फर्ममा माउको सङ्ख्या वृद्धि गर्न १२÷१५ वटा पोथी बङ्गुर हुर्काइ रहनु भएको छ ।
हेमसायर,ड्योग,योगसायर जातका बङ्गुर २ सय किलो सम्मको हुने गरेको सुजनको भनाई छ ।
उहाँहरूले भरखरै भोटेघुम्ती कृषि फर्म नामको फर्म दर्ता गर्नुभएको छ । फर्म दर्ता गरेपछि तरकारी खेती समेत सुरु गर्ने सुजनले सुनाउनु भयो । कृषि कर्म रमाइरहे पनि सरकारले आजका मिति सम्म केही सहयोग नगरेको सुजनकी आमा तुलसामायाले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो– बिहान देखि बेलुका सम्म गोठमा काम गर्दै दिन बित्छ । रेडियो टिभीमा सरकारले किसानलाई अनुदान दिएको समाचार सुन्छु । तर, १३ वर्ष भयो । हामीले कहिल्यै सरकारको अनुदान देखेका छैनौं । उहाँले सरकारी अनुदान कागजपत्र मिलाएर नक्कली किसानले पाउने गरेको दुखेसो गर्नुभयो ।

प्रकाशित मिति: २०२०-०१-२४ , समय : ०८:११:२२ , ४ वर्ष अगाडि