ज्वाईँको घरमा दुख नपाइयोस भनेर सीप सिक्दै किशोरीहरू

तालिमले उत्साहित बन्दै महिलाहरू

Enepal Patra Pvt. Ltd. , ११८२  पटक हेरिएको

हरि कोइराला,
पथरीशनिश्चरे(मोरङ), ९ माघ  । मोरङको पथरीशनिश्चरे ८ की १५ वर्षीय कामना कार्की भरखर १० कक्षामा पढ्दै हुनुहुन्छ । अध्ययनसँगै नगरपालिकाले दिने ब्यावसायिक तालिममा पनि सहभागि भइरहनु भएकी कामनाले भन्नुभयो– ज्वाईँको घर गएर पनि दुख नपाइयोस । अर्काको कमाईको आस गर्नु नपरोस । हातमा सीप भएपछि भोकै बस्नु पर्दैन भनेर तालिम लिइरहेको छु ।
कामना मात्र होइन । अचार बनाउने तीन दिने तालिम लिएका अधिकांश महिला उत्साही देखिएका थिए । अर्की सहभागि सङ्गीता राईले भन्नुभयो–घरमा त्यसै समय कटाउनु भन्दा सीप सिकेर स्वरोगार बन्न तालिम लिएकी हुँ । अब अचार बनाएर व्यावसायिक उत्पादन गर्ने बताउँदै उहाँले नगरपालिकाले बजार ब्यवस्थापन गरिदियो भने जति पनि उत्पादन गर्न सकिने रहेछ ।
तालिमले सीप मात्र सिकाएको छैन, महिलालाई । समाजमा दलित , गैरदलित , आदिवासी र जनजाति समूदायका महिला बीच अन्तरघुलन पनि गराएको छ । लक्ष्मी सिवा(परियार)ले भन्नुभयो–तालिमले जातीय सद्भाव र एकता वृद्धि गरेको छ । सबै महिला एउटै उदेश्य प्राप्तिको अभियानमा लाग्दा लक्ष्मी खुशी हुनुहुन्छ ।
सधैं श्रीमानसँग खर्च मागेर आफ्ना सामान्य आवश्यकता पुरा गर्ने सावित्रा कार्की सीप सिकेपछि २÷४ पैसा कमाउन घर बाहिर निस्कनु पर्छ भन्ने मान्यता आफ्नो दिमागबाट हटेको बताउनु हुन्छ । उहाँले भन्नुभयो – गाउँका महिलालाई यस्ता तालिम दिएर स्वरोजगार बनाउन सकिने रहेछ ।
लक्ष्मी कट्वाल तालिम लिएपछि अचार बनाएर बिक्री गरिहाल्ने सोचमा हुनुहुन्छ । उहाँले घरका काम भ्याएर पनि अचार बनाउन सकिने अनुभव सुनाउनु भयो ।
पथरीशनिश्चरे ८ ले अचार बनाउने तालिमका लागि ३० जना लक्षित वर्गका महिला सहभागि गराउने कार्यक्रम तय गरेको थियो । तर, तालिममा वेरोजगार र विपन्न ६२ जना महिलाको सहभागिता रह्यो । तालिम लिने महिलाहरूले बेरोजगार समस्या हल गर्न यस्ता तालिम उपयोगी हुने बताउनु भयो । बिमला खड्काले ३ दिनको तालिमले मात्र पूर्ण स्वरोजगार बन्न नसकिने भएकोले एडभानस तालिम माग गर्नुभयो ।
पथरीशनिश्चरे ८ का वडाध्यक्ष बाबुराम दाहालले पहिलो पटक ५० हजार विनियोजन गरेर तालिम ल्याएको बताउनु भयो । गाउँघरका महिलालाई स्वरोजगार बनाउन उदेश्यले तालिम आयोजना गरिएको बताउँदै उहाँले ३० जनाका लागि भएको तालिममा ६२ जना महिलाले पुरै समय दिएर सीप लिएको जानकारी दिनुभयो ।
माघ २ गते सुरु भएर ३ दिन सम्म सञ्चालन भएको तालिमलाई मुना पाण्डे र चन्द्रकला चेम्जोङले सहजीकरण गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२०-०१-२३ , समय : १९:३६:२२ , ४ वर्ष अगाडि