सामाजिक सञ्जालमा स्ट्याटस लेखेको आरोपमा पत्रकार खड्का पक्राउ

ईनेपालपत्र संबाददाता , ९  पटक हेरिएको

मोरङ, १९ भदौ । मोरङको उर्लाबारीका पत्रकार तेजन खड्कालाई सामाजिक सञ्जालमा स्ट्याटस लेखेको विषयमा प्रहरीले नियन्त्रणमा लिएको छ। ब्रेक एण्ड लिंक्स ९बीएल० मा कार्यरत खड्कालाई इलाका प्रहरी कार्यालय उर्लाबारीले आज घरबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, विराटनगरतर्फ लगेको जनाइएको छ। उनलाई अदालतमा उपस्थित गराउने प्रहरीको तयारी रहेको बताइएको छ।
उर्लाबारी नगरपालिका–७ स्थित खोलाको बगरमा युवा समूहले मैदान निर्माणका लागि झाडी सफा गरेपछि वडाले पार्क निर्माण गर्ने भन्दै अवरोध गरेको विषयमा युवाहरूले विरोध जनाउँदै आएका थिए। उक्त स्थान यसअघि लागुऔषध प्रयोग तथा युवायुवतीको जमघटका लागि प्रयोग हुने गरेको सन्दर्भ जोड्दै पत्रकार खड्काले बुधबार सामाजिक सञ्जालमा ‘मैदान र पार्क छोडौं, रेड लाइट एरिया बनाऊँ, आम्दानी हुन्छ’ भन्ने आशयको स्ट्याटस लेखेका थिए।
उक्त स्ट्याटसमाथि आपत्ति जनाउँदै उर्लाबारी नगरपालिका–७ की वडाध्यक्ष उर्मिला थापाले विद्युतीय अपराधसम्बन्धी कसुरअन्तर्गत उजुरी दिएको बताइएको छ। सोही उजुरीका आधारमा खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

प्रकाशित मिति: २०२६-०९-०४ , समय : १३:२७:४४ , १ घन्टा अगाडि