लागुऔषध र पेस्तोल सहित ५ जना पक्राउ, एक फरार

Enepal Patra Pvt. Ltd. , ९६३  पटक हेरिएको

कानेपोखरी (मोरङ), ६ माघ । इलाका प्रहरी कार्यालय पथरीको गस्ती टोलीले मोरङको कानेपोखरी – ७ बाट लागु औषध सहित ४ जनालाई पक्राउ गरेको छ ।
आइतबार राति साडे १० बजेतिर रमाइलो बजारबाट कानेपोखरी चौक तर्फ जाँदै गरेको को २ ह ३९६८ नंम्वरको टेम्पोको छतमा लुकाएर लैजाँदै गरेको अवस्थामा प्रहरीले लागु औषध सहित चार जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरिक्षक दिलिपकुमार गिरीका अनुसार पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा ८ का २० वर्षीय दिनेश विश्वकर्मा, सोही स्थानका २० वर्षीय रामबहादुर पौडेल,सोही नगरपालिकाको वडा नं. ९ का २१ वर्षीय उत्सव ढकाल र सोही वडाका २० वर्षीय गौरव बस्नेत रहेका छन् । विश्वकर्मा टेम्पो चालक हुन् । उनीहरूको साथबाट नाइट्राभेट ३० ट्याब्लेट,स्पासपोक्रान प्लस ४८ ट्याब्लेट र कोरेक्स ३ वोतल वरामद गरिएको छ ।
पक्राउ परेका ब्यक्तिहरूले दिएको सुचनाका आधारमा प्रहरीले लागुऔषधका कारोवारी सुनवर्सी नगरपालिका वडा नं ८ डाइनियाका २८ वर्षीय मोहम्मद मुस्ताकलाई समेतलाई पक्राउ गरेको छ । बिक्री गर्ने ब्यक्ति पक्राउ गर्न सफल भएपछि प्रहरी उसैको सहयोग लिएर किन्न पठाउने ब्यक्तिको घर सम्म पुगेको प्रहरी नायव उपरिक्षक गिरीले बताउनु भयो । गिरीले भन्नुभयो – पक्राउ परेका मुस्ताकको सहयोगमा सुन्दरहरैचा २ का अब्बास मियाको घर सम्म पुग्न सफल भयौं । ५२ वर्षीय अब्वासको घरबाट प्रहरीले एउटा कटुवा पेस्तोल, त्यसमा लाग्ने ३ राउण्ड गोली र लागु औषध समेत फेला पारेको थियो । गिरीका अनुसार अब्बासको घरबाट नाइट्राभेट १७५ ट्याब्लेट,स्पासपोक्रान प्लस २७८ ट्याब्लेट समेत बरामद भएको छ । अब्वासको घर सुनवर्सी ८ डाइनियाँमा पनि रहेको खुलेको छ ।
लागुऔषधको ब्यापार गर्ने अब्बास मिया भने फरार छन् । प्रहरीले पक्राउ परेका सबैलाई लागुऔषध ओसार पसार र अबैध हात हतियार खरखजना सम्बन्धी मुद्धा चलाएर थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२०-०१-२० , समय : २०:५५:१८ , ४ वर्ष अगाडि