अमेरिकामा भीषण आकस्मिक बाढी: १५ जना बेपत्ता भएको आशङ्का, उद्धार कार्य जारी

ईनेपालपत्र संबाददाता , ५  पटक हेरिएको

वासिङ्टन डिसी, १५ भदौ । अमेरिकाको एरिजोनास्थित ग्रान्ड क्यान्यन राष्ट्रिय निकुञ्जमा आएको आकस्मिक बाढीका कारण करिब १५ जना बेपत्ता भएको अनुमान गरिएको छ।

 

नेसनल पार्क सर्भिसले  जनाएअनुसार बाढीले ठूला ढुङ्गा, धातुका संरचना र अन्य भग्नावशेषहरू कोलोराडो नदीमा बगाएपछि दर्जनौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। शनिबार दिउँसो करिब २:३० बजे सुरु भएको उक्त आकस्मिक बाढीले ‘ब्राइट एन्जल क्यान्यन’ र ‘फ्यान्टम रान्च’ क्षेत्रलाई बढी प्रभावित पारेको छ।

 

‘काइबाब प्लेटो’ (Kaibab Plateau) मा भएको भारी वर्षापछि बाढी आएको र प्रभावित क्षेत्रमा रहेका मानिसहरूको खोजी तथा उद्धारका लागि एरिजोनाका स्थानीय अधिकारीहरूसँग समन्वय भइरहेको एनपीएसले जनाएको छ।

 

एनपीएसले जारी गरेको विज्ञप्तिअनुसार अगस्ट २९ मा ब्राइट एन्जल क्यान्यन र फ्यान्टम रान्च क्षेत्रमा आएको ठूलो आकस्मिक बाढी (Flash-flood) पछि बेपत्ता वा सम्पर्कविहीन भएका करिब १५ जना व्यक्तिहरूबारे जानकारी उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

आइतबार बिहानसम्म फ्यान्टम रान्च र तल्लो उत्तरी काइबाब ट्रेलबाट ६२ जनाको सकुशल उद्धार गरिएको छ भने कटनवुड क्याम्पग्राउन्ड र फ्यान्टम रान्चबाट थप मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने योजना छ।

 

निकुञ्ज प्रशासनले उत्तरी काइबाब ट्रेलको छेउमा, ब्राइट एन्जल क्याम्पग्राउन्डमा र फ्यान्टम रान्चको उत्तरमा रहेको ‘बक्स’ क्षेत्रमा पदयात्रा वा क्याम्पिङ गरिरहेका व्यक्तिहरूको खोजी तीव्र बनाएको छ। बाढीका कारण राष्ट्रिय निकुञ्जमा पर्यटक तथा बासिन्दाहरूलाई खानेपानी सेवा दिने एकमात्र पाइपलाइनमा समेत क्षति पुगेको अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति: २०२६-०८-३१ , समय : १८:३०:४९ , १ घन्टा अगाडि