पूर्व मन्त्री सिंहद्वारा रौतहटमा निःशुल्क आँखा शिविरको उद्घाटन

ईनेपालपत्र संबाददाता , ६  पटक हेरिएको

रौतहट, ९ साउन। मधेश प्रदेशका पूर्व मन्त्री वीरेन्द्र प्रसाद सिंहले रौतहटको वृन्दावन नगरपालिका–२ स्थित नेपाल युवा क्लब (पुस्तकालय) परिसरमा शनिवार एक समारोहका बीच निःशुल्क आँखा शिविरको उद्घाटन गरेका छन्।

 

नेपाल नेत्रज्योति संघ, गौर आँखा अस्पताल र नेपाल ब्रह्मर्षि समाज जिल्ला कार्य समिति रौतहटको संयुक्त आयोजनामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो।

 

उद्घाटन पछि बोल्दै सिंहले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै आर्थिक अभावका कारण कोही पनि उपचारबाट वञ्चित हुन नहुने बताएका थिए। उनले यस्ता सेवामूलक कार्यक्रमले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए।

 

कार्यक्रमका प्रमुख अतिथी सिंहले सोही अवसरमा वृक्षारोपणसमेत गर्दै स्वास्थ्य र वातावरण एकअर्कासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले दुवैलाई समान प्राथमिकता दिनुपर्ने बताएका थिए। समाचार तयार पार्दासम्म शिविरमा ६२५ जना बिरामीको आँखा जाँच भएको शिविरमा सहभागी स्थानीय सञ्चारकर्मी रामशरण यादवले न्युज कारखाना लाई जानकारी दिएका छन् ।

 

शिविरमा विशेषज्ञ चिकित्सकद्वारा मोतियाबिन्दुका बिरामीको परीक्षण गरी आवश्यक परेकालाई निःशुल्क अपरेशन गर्ने आयोजकले जनाएको छ।

 

नेपाली कांग्रेस मधेश प्रदेश सूचना तथा सञ्चार विभागका सचिव निकेश त्रिपाठीले  ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति: २०२६-०७-२५ , समय : १५:२९:२४ , १ घन्टा अगाडि