प्रशान्त निराैला , ६ पटक हेरिएको
लेटाङ–१५ असार । असारको हरियालीसँगै खेतबारीमा किसानको चहलपहल बढ्ने समय हो। यही अवसरलाई विशेष बनाउँदै लेटाङमा राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिन उत्साहका साथ मनाइएको छ। लेटाङ–५ खेरुवा स्थित गोमा आचार्यको खेतमा सामूहिक धान रोपाइँ गर्दै नगरपालिकाले यस वर्षको धान दिवस मनाएको हो।
बिहानैदेखि खेतमा छुट्टै रौनक देखिएको थियो। पञ्चेबाजाको धुनसँगै जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय सरोकारवालाहरू खेतमा प्रवेश गरेका थिए। परम्परागत संस्कृति झल्किने गरी आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले हिलोमा रमाउँदै सामूहिक रूपमा धान रोपेर किसानको मेहनत र कृषिको महत्वलाई सम्मान गरेका थिए।
कार्यक्रममा लेटाङ नगरपालिकाका नगरप्रमुख भुपेन्द्र कुमार लावती, उपप्रमुख कृष्ण कुमारी निरौला, कार्यपालिका सदस्य शोभा खड्का, कृषि शाखा प्रमुख करण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो। जनप्रतिनिधिदेखि कर्मचारीसम्मले खेतमै पुगेर धान रोप्दै किसानसँग ऐक्यबद्धता जनाएका थिए।
राष्ट्रिय धान दिवस धान रोप्ने दिन मात्र नभई नेपाली कृषि संस्कृति, किसानको श्रम र खाद्य सुरक्षासँग जोडिएको महत्वपूर्ण दिनका रूपमा लिइन्छ। नेपालमा धान प्रमुख खाद्यान्न बाली भएकाले यसको उत्पादन वृद्धि, आधुनिक कृषि प्रविधिको प्रयोग र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष असार १५ गते यो दिवस मनाउने गरिन्छ।
लेटाङ नगरपालिकाले आयोजना गरेको कार्यक्रमले कृषि क्षेत्रप्रति सम्मान बढाउनुका साथै नयाँ पुस्तालाई खेतीपाती र परम्परागत संस्कृतिसँग जोड्ने सन्देश दिएको छ।
प्रकाशित मिति: २०२६-०६-२९ , समय : ११:१७:४४ , १ घन्टा अगाडि