“मृगौला दिन तयार छु, पैसा जुटाउन सकिनँ” – श्रीमान बचाउन लेटाङकी हरिकुमारीको अमूल्य संघर्ष र सहयोगको अपिल

ईनेपालपत्र संबाददाता , ४४  पटक हेरिएको

लेटाङ १३ असार । मोरङको लेटाङ नगरपालिका–६ की हरिकुमारी लिम्बू अहिले एउटा निकै पीडादायी र कठिन मोडमा उभिएकी छन्। उनका श्रीमान डिल्लिस्वर (लावती) लिम्बूका दुवै मृगौला फेल भएर जीवन मृत्युको दोसाँधमा छ। लामो समयदेखि श्रीमानको उपचारमा लागेकी हरिकुमारीले घरमा भएको सम्पूर्ण श्रीसम्पत्ति र कमाइ सकिसकेकी छन्।
ज्यालादारी गरेर भए पनि अहिलेसम्म उपचार धान्दै आएकी उनी अहिले भने पूर्ण रूपमा आर्थिक अभावमा परेपछि समाज र देश-विदेशमा रहेका नेपालीहरूसमक्ष सहयोगको याचना गर्न बाध्य भएकी छन्।
श्रीमानको जीवन बचाउने अन्तिम र एकमात्र आशामा हरिकुमारी आफैंले आफ्नो एउटा मृगौला दान गर्ने निर्णय गरेकी छन्।
यसका लागि आवश्यक पर्ने सम्पूर्ण चिकित्सकीय र कानुनी प्रक्रिया समेत उनले पूरा गरिसकेकी छन्। तर, मृगौला दिन तयार भएर पनि प्रत्यारोपणका लागि आवश्यक पर्ने करिब १५ देखि २० लाख रुपैयाँ जुटाउन नसक्दा उपचार प्रक्रिया अघि बढ्न सकेको छैन। “श्रीमानलाई बचाउन म आफ्नो अंग दिन त तयार भएँ, तर यो गरिबीले गर्दा अस्पतालको खर्च जुटाउनै सकिनँ,” हरिकुमारीले आँसु पुछ्दै भनिन्।
डिल्लिस्वर हाल विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा नियमित रूपमा डायलसिस गराइरहेका छन्।
चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्था निकै नाजुक भइसकेको छ र अबको करिब ३० देखि ४५ दिनभित्रमा जसरी पनि मृगौला प्रत्यारोपण गरिसक्नुपर्ने बाध्यता छ। समयमै रकम नजुट्ने हो भने उनको ज्यान जोखिममा पर्न सक्ने भन्दै चिकित्सकहरूले सचेत गराएका छन्।
यसअघि बाबुको उपचारका लागि आवश्यक आर्थिक जोहो गर्न छोरा समेत वैदेशिक रोजगारीका लागि विदेशिएका थिए। तर, सोचेजस्तो कमाइ नभएपछि उनी पनि निराश हुँदै घर फर्कनुपर्ने अवस्था आयो। परिवारको आम्दानीको स्रोत पूर्ण रूपमा बन्द भएको र अहिलेसम्मको उपचारले सञ्चित रकम सबै सकिएकाले अहिले यो परिवार ठूलो मानवीय संकटमा परेको छ।
आफ्नो सिन्दूर जोगाउन र एउटा अमूल्य जीवन बचाउन हरिकुमारीले देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दयालु, मनकारी महानुभावहरू, सामाजिक संघ-संस्था र अभियन्ताहरूसँग आर्थिक सहयोगको आर्द्र अपिल गरेकी छन्। सहयोग गर्न चाहने महानुभावहरूले हरिकुमारी लिम्बूलाई सिधै ९८४०९७५२३५ मा सम्पर्क गर्न सक्नुहुनेछ। आर्थिक सहयोगका लागि एनआईसी एसिया बैंक, लेटाङ शाखामा रहेको हरिकुमारी लिम्बूको खाता नम्बर २२४५७५२२०८४२५००१ मा आफ्नो गच्छे अनुसारको रकम जम्मा गरेर सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ।

प्रकाशित मिति: २०२६-०६-२७ , समय : १२:२३:०४ , २ घन्टा अगाडि