निरोज ढकाल , ७ पटक हेरिएको
लेटाङ–१३, असार । वन संरक्षण, वातावरणीय सन्तुलन तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले कीर्तिमान सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा वृहत् वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कीर्तिमान सामुदायिक वनको खण्ड नम्बर ७, कीर्तिमान मा आयोजित कार्यक्रममा करिब तीन हेक्टर क्षेत्रफलमा पाँच हजार दुई सय असी वटा बिरुवा रोपिएको छ। उक्त वृक्षारोपण कार्यक्रममा घेरा बाराको लागि कीर्तिमान सामुदायिक वन उपभोक्ता समितिबाट ४ लाख ३० हजार ९३६ रुपैयाँ तथा डिभिजन वन कार्यालय मोरङबाट ५ लाख रुपैयाँ गरि जम्मा ९ लाख ३० हजार ९३६ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको थियो। साथै सबडिभिजन वन कार्यालय लेटाङ बाट पाँच हजार दुई सय असी वटा बिरुवा उपलब्ध गराएको थियो।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा लेटाङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष डम्मर राई रहेका थिए भने सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत आविष्कार भट्टराई विशिष्ट अतिथिको रूपमा रहेका थिए। कार्यक्रममा सबडिभिजन वन कार्यालयका प्रतिनिधि, टोली प्रमुख, कार्यसमिति सदस्य,कीर्तिमान सामुदायिक वन का अध्यक्ष साथै उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहयोगी संस्थाका रूपमा लेटाङ जीवन विकास रहेको थियो जसले सहभागीहरूका लागि खाजा तथा नास्ताको व्यवस्था गरेको थियो।
वृक्षारोपण कार्यक्रमनलाई सफल बनाउन सबै पक्षले संयुक्त रूपमा सक्रिय भूमिका निर्वाह गरेका थिए। रोपिएका बिरुवाले भविष्यमा वन क्षेत्रको संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा वातावरण सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
प्रकाशित मिति: २०२६-०६-२७ , समय : १०:५५:४६ , १ घन्टा अगाडि