निरोज ढकाल , ८ पटक हेरिएको
लेटाङ । लेटाङ नगरपालिकामा सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रमअन्तर्गत गरिएको अध्ययन तथा स्वास्थ्य परीक्षणको अन्तिम प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा लेटाङ नगरपालिकाका नगरप्रमुख भुपेन्द्र कुमार लावती सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा टोल विकास संस्थाका अध्यक्षहरू, जनप्रतिनिधिहरू, इलाका प्रहरी कार्यालय लेटाङका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँका विद्यार्थीहरूले लेटाङ नगरपालिकाका विभिन्न वडाहरूमा पुगेर समुदायस्तरमा स्वास्थ्य अवस्था सम्बन्धी स्क्रिनिङ तथा तथ्याङ्क सङ्कलन गरेका थिए। अध्ययनका क्रममा मधुमेह, उच्च रक्तचाप, नसर्ने रोग (NCD), तथा अन्य विभिन्न स्वास्थ्य समस्याबाट प्रभावित व्यक्तिहरूको विवरण सङ्कलन गरिएको थियो। साथै, समुदायमा पहिचान नभएका वा स्वास्थ्य परीक्षण नगराएका व्यक्तिहरूको समेत अवस्था पहिचान गर्ने प्रयास गरिएको विद्यार्थीहरूले बताएका छन्।
कार्यक्रमअन्तर्गत लागू पदार्थ दुर्व्यसन न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन गरिएको जानकारी दिए, भने स्वस्थ जीवनशैली अपनाउने, नियमित स्वास्थ्य परीक्षण गराउने तथा नसर्ने रोगबाट बच्ने उपायबारे परामर्श प्रदान गरिएको थियो। त्यसैगरी किशोरी तथा महिलाहरूमा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी सचेतना अभिवृद्धि गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइयो।
प्रस्तुतिकरणमा समुदायमा नसर्ने रोगको जोखिम बढ्दै गएको देखिएकाले समयमै परीक्षण, स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि तथा जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको निष्कर्ष प्रस्तुत गरिएको थियो। साथै बिश्व विद्यालयका विद्यार्थीहरुले नगरप्रमुख लावती र लेटाङ-३ का वडासदस्य नगेन्द्र पराजुलीलाई मायाको चिनो सहित शङ्कलित प्रतिबेदन बुझाएका छन।
कार्यक्रममा नगरप्रमुख लावतीले विद्यार्थीहरूले गरेको अध्ययनले स्थानीय स्वास्थ्य अवस्था बुझ्न तथा भावी स्वास्थ्य योजना निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले समुदायको स्वास्थ्य सुधारका लागि नगरपालिकाले आवश्यक पहल तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाउनुभयो।
प्रकाशित मिति: २०२६-०६-०२ , समय : २०:३०:३६ , १ घन्टा अगाडि