आरोहणको काव्यारोहण कविता यात्रामा देवान

Enepal Patra Pvt. Ltd. , ९४९  पटक हेरिएको

विराटनगर, ५ माघ । आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको काव्यारोहण ‘आरोहण कविता यात्रा’को तेस्रो भागमा वरिष्ठ कवि बम देवानले आफ्ना रचना प्रस्तुत गर्नु भएको छ ।
हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा भएको एकल कविता वाचन कार्यक्रममा कवि देवानले आफ्ना दर्जन बढी कविता वाचन गनुृभयो । साहित्यमा विम्बको प्रयोग गरेर प्रगतिशील, माक्र्सवादी, जनवादी साहित्यलाई जीवन्तता दिने कविको रूपमा परिचित देवानले ‘आगाको फूल’, ‘भरिया कान्छो’, ‘वन फूल’, ‘बुद्ध नेपाल’, ‘वैशाख हिंडिरहेको छ’, ‘नङ्ग्याइँदा हरेक क्षण आजको द्रौपदी’, ‘हिमालको हिउँसित बाँधिएका हिउँ छायाहरू’, ‘वाह यी फूलहरू’, ‘वनफूलहरू’, ‘भरिया कान्छो’, ‘जब–जब’, ‘लड्न अघि’, ‘भयबोध’, ‘माछापुच्छेको आँखा र तस्बिर’, ‘मेरी प्रियसी,’ र ‘मेरो महान मान्छे’ शीर्षकका १५ वटा कविता पस्किनु भयो ।
२०२१ सालदेखि लेखन थालनी गर्नुभएका धरानका रैथाने कवि देवान महानन्द पुरस्कार, कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कारलगायत सम्मानबाट सम्मानित भइसक्नु भएको छ । देवानको कविता सुन्न विराटनगरसहित धनकुटा, दमक, धरान, इटहरीका साहित्यकार, विद्यार्थी, वुद्धिजिवीलगायतको उपस्थिति रहेको थियो ।
हरेक महिनाको पहिलो शनिबार आयोजना हुने कार्यक्रममा आरोहणले यसअघि आयामेली कवि बैरागी काइँला र वरिष्ठ कवि तुलसी दिवसलाई उभ्याइसकेको छ । अग्रजहरूको सम्मानस्वरूप वरिष्ठ कविलाई हरेक महिना उपस्थित गराइने कार्यक्रम संयोजक धीरज राईले बताउनु भयो । कविता सुनाइसकेपछि देवानलाई आयोजकका तर्फबाट आरोहणका अध्यक्ष भैरव क्षेत्री, प्राज्ञ विवश पोखरेलले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो ।
उहाँ पञ्चायतकालमा दर्शन राईको नामबाट साहित्य सिर्जना गर्नु हुन्थ्यो । उहाँ राजनीति र साहित्यलाई सँगै हिंडाउने वामविचारकका रूपमा परिचित स्रष्टा हुनुहुन्छ ।
२००३ साल मंसिरमा संखुवासभाको आँखीभूइँमा जन्मिनु भएका देवान प्रकृति र मानिसलाई उचालेर वर्गीय धरातलमा उभिएर लेख्ने गर्नुहुन्छ । वि.सं. २०४३ देखि २०४७ सालसम्म धरान नगर पञ्चायतको जनपक्षीय प्रधानपञ्च बन्नुभएका देवान अझै पनि साहित्य सिर्जनामा क्रियाशील हुनुहुन्छ ।

प्रकाशित मिति: २०२०-०१-१९ , समय : ०९:०६:१९ , ४ वर्ष अगाडि