दुई अभियानकर्मी दुई तिर ,जहरमान र मौसमको छुट्टा–छुट्टै सभा

Enepal Patra Pvt. Ltd. , ८४०  पटक हेरिएको

पथरीशनिश्चरे,४ माघ । समान माग ,उस्तै आवश्यकता । आवाज समान , सहभागिता पनि बराबरी । मोरङको पथरीशनिश्चरेमा शनिबार सुकुम्बासी र अब्यबस्थित बसोबास गर्नेहरूलाई सरकारले जोतभोगका आधारमा धनीपुर्जा दिनुपर्ने माग गर्दै भिन्ना भिन्नै स्थानमा दुईवटा कार्यक्रम भए ।
एउटा कार्यक्रमको नेतृत्व जहरमान लिम्बूले गर्नु भएको थियो भने अर्को कार्यक्रमको अगुवा हुनुहुन्थ्यो मौसम लिम्बू ।
साझा एजेण्डा भएपनि फरक फरक स्थानमा दुईवटा कार्यक्रम हुँदा केही समय कार्यक्रममा सहभागि हुन आएकाहरू नै अल्मलिए । कोही जन आन्दोलन चौकको कार्यक्रमलाई आधिकारिक भनिरहेका थिए भने कोही सिरिजंघा शालिक परिसरको कार्यक्रमलाई । स्थानीय सरकारका तर्फबाट उप मेयर प्रमुख अतिथि भएको कार्यक्रम थियो, जनआन्दोलन चौकमा । जनआन्दोलन चौकको कार्यक्रममा बोल्दै उप प्रमुख यमुना बिष्ट बास्तोलाले सरकारले अव्यवस्थित बसोबास र सुुकुम्बासी समस्या समाधान गर्नेमा ढुक्क रहन आग्रह गर्नुभयो । दुई तिहाईको वर्तमान सरकारले पुर्जा दिन सकेन भने अब बन्ने कुनै पनि सरकारले पुर्जा दिन नसक्ने उहाँको उद्घोष थियो । उहाँले भन्नुभयो – धनीपुर्जा ललिपप बाँडेजस्तो होइन, यसका लागि सरकारले प्रक्रिया थालेको छ । हामीले मन्त्री पनि भेटेर आई सक्यौं । धनीपुर्जा वितरण चाँडै हुने उहाँले दाबी गर्नुभयो ।

सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समाधान पहल नगर समिति पथरीशनिश्चरेको आयोजनामा भएको सोहि समारोहमा बोल्दै पहल समितिका अध्यक्ष जहरमान लिम्बुले नेपाल सरकारका भुमिसुधार मन्त्री पद्मा अर्याल र कानुन मन्त्री भानुभक्त ढकालले समेत जोतभोगकै आधारमा जग्गाधनी पुर्जा दिने तयारी गरिरहेको आश्वासन दिएकाले सुकुम्बासीका नाममा थप राजनीति नगर्न सुझाव दिनु भयो । लिम्बूले सुकुम्बासीका नाममा सुकुम्बासी परिचयपत्र दिइने भन्दै पैसा उठाइदैछ यो के का लागि ? उहाँले ‘पैसा उठाएर कसैले जग्गा धनीपुर्जा नपाउने उल्लेख गर्नुभयो ।
उता जोतभोगका आधारमै जग्गा धनिपुर्जा माग गर्दै मौसम लिम्वु नेतृत्वको सुकम्बासीहरुको समुहले चरणवद्ध आन्दोलन सुरु गरेको छ । सो समुहले आन्दोलन थालेपछि जहरमान लिम्वु नेतृत्वको समितिले पहिलो पटक आमसभा आयोजना गरेको हो । लिम्वु नेतृत्वको समितिमा नगरका १४ जना सदस्य रहेका छन । मौसम लिम्वु नेतृत्वको समितिले शनिबार नै युवा र महिला परिचालन समिति पनि गठन गरेको छ ।

प्रकाशित मिति: २०२०-०१-१८ , समय : २१:१२:२४ , ४ वर्ष अगाडि