इनेपालपत्र , ७ पटक हेरिएको
सञ्जय मिश्रा
रौतहट, १३ बैसाख । बारासग सिमाना जोडिएको भारत–नेपाल सीमावर्ती क्षेत्रमा तस्करीविरुद्ध सुरक्षा निकायले चलाएको संयुक्त कारबाहीमा चोरीको गाडी प्रयोग गरी कपडा तस्करी गर्ने गिरोहका सदस्य र अवैध रूपमा मल भण्डारण गर्ने समूहका व्यक्तिहरू पक्राउ परेका छन्।
भारतको झरोखर प्रहरी र एसएसबीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा खानतलासी गर्दा चकिया प्रहरी चौकी क्षेत्रबाट चोरी भएको भारतीय नम्बर प्लेटको सवारी साधनमा भन्सार छलीका लत्ताकपडा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा एक नेपाली युवकसहित दुई जनालाई रङ्गेहात पक्राउ गरेको हो।
प्रहरीका अनुसार तस्करहरूले सुरक्षा निकायलाई छल्न चोरीको सवारी साधन प्रयोग गरी ठूलो परिमाणमा कपडा नेपाल भित्र्याउने योजना बनाएका थिए। पक्राउ परेकाहरूलाई बरामद सामग्री र सवारी साधनसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ भने गिरोहमा अन्यको संलग्नताबारे थप अनुसन्धान भइरहेको छ।
यसैबीच, सीमावर्ती क्षेत्रमा अवैध रूपमा भण्डारण गरिएको ठूलो परिमाणमा मल पनि बरामद गरिएको छ। प्राप्त सूचनाका आधारमा भारतको एसएसबी ७१ बटालियन, मोतिहारीको जानकारीपछि रक्सौल नजिकको रेगनिया गाउँस्थित एक गोदाममा छापा मारिएको थियो।
सीएचक्यू बरहरवा, जितना प्रहरी तथा कृषि प्राविधिकको संयुक्त टोलीले गरेको उक्त कारबाहीमा ५० केजीका ६१ बोरा एनपीके मल बरामद गरिएको एसएसबी मुख्यालय पिपराकोठीका सहायक कमान्डेन्ट बिश्वजित तिवारीले बताएका छन्।
घटनास्थलबाट ३ वटा मोटरसाइकलसमेत फेला पारिएको छ भने दुई भारतीय नागरिक र एक नेपाली नागरिकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारणका शत्रुधन कुमार, सुनिल यादव र नेपाल बारा सिम्रौनगढका इम्तियाज रहेको एसएसबी प्रवक्ता बिनित कुमार सिंह ले जानकारी दिएका छन्।
बरामद गरिएको मल, मोटरसाइकल तथा पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि जितना प्रहरी कार्यालयमा बुझाईएको एसएसबीले जनाइएको छ।
प्रकाशित मिति: २०२६-०४-२६ , समय : १२:५२:३० , २ घन्टा अगाडि