बाख्रापालनमा अब्बल बहुमुखी कृषि फर्म

Enepal Patra Pvt. Ltd. , १७०४  पटक हेरिएको

हरि कोइराला,
बेलबारी(मोरङ), ४ माघ । मोरङको बेलबारी–९ स्थित पोखरियाको बहुमुखी कृषि फार्मले वार्षिक ५० लाख रुपियाँको खसी, बाख्रा उत्पादन गरी बिक्री गरेको छ । पाठा–पाठी उत्पादन गर्ने र फार्म बिस्तार गर्ने योजनाका साथ अढाई वर्ष अघि सुरु भएको फार्मले स्थानीय माग खेप्न नसकेपछि पाठा पाठी बिक्री गर्न थालेको हो ।
बाख्रापालनका लागि प्रदेश नं. १ को स्रोत केन्द्र बनाउने उदेश्यले ७ विगाहा जग्गामा सुरु गरिएको बाख्रा फार्ममा हाल बोयर जातका २७ माउ बाख्रा र २ वटा बोका छन् । त्यस्तै स्थानीय जातका २ सय बढी बाख्रा, बोका,पाठी रहेका छन् । अढाई वर्ष अघि ३० लाख रुपियाँ खर्च गरी सुरु भएको बहुमुखी कृषि फार्ममा हाल सम्म ५ करोड रुपियाँ लगानी भइसकेको छ । फार्मका प्रबन्धक महेश हुमागाईले भन्नुभयो – अहिले फार्म बाख्रामा मात्र केन्द्रीत छैन् । २० विगाहामा २२ वटा माछापोखरी छन् भने थप २० विगाहामा आधुनिक प्रविधिबाट धान,मकै र गहुँ खेती भइरहेको छ । उहाँले भन्नुभयो – बाख्रापालनबाट मात्र वार्षिक ५० लाख रुपियाँ आम्दानी भइरहेको छ ।
फार्मले बोयर जातका दुई वटा बोका र २७ वटा बाख्राबाट शत प्रतिशत बोयर पाठा पाठी उत्पादन गर्ने प्रमुख लक्ष्य राखेको छ । साढे ८ लाख रुपियाँ लगानी गरी ल्याइएका बोयर बोका अहिले १३० केजीका भएका छन् । बाख्राका लागि खोर र आधुनिक टाट्नुको ब्यवस्था गरिएको छ । जसको प्रारम्भिक लगानी ९ लाख भएको छ ।त्यति मात्र होइन ,सात विगाहा जग्गामा भूई र रुख घाँसको ब्यवस्था गरिएको छ । बाख्रापालनका लागि पूर्वाधारमा पनि ठूलो खर्च भइरहेको प्रवन्धक हुमागाईले बताउनु भयो । उहाँले भन्नुभयो–बुद्व एयरका सञ्चालक सुरेन्द्रबहादुर बस्नेतको एकल लगानीमा सुरु भएको बहुमुखी कृषि फार्मले हाल १५ जनालाई रोजगार समेत दिइरहेको छ ।
फार्मले बोयर र जमुनावारी जातका बोका स्थानीय खरी जातका बाख्रामा लगाएर पाठा,पाठी उत्पादन गरिरहेको कर्मचारी लक्ष्मी लुइटेलले बताउनु भयो । पहिलो प्राथमिकता बोयर जातका बाख्राबाट पाठा पाठी उत्पादनमा जोड दिइने छ । त्यसो गर्न असम्भव भए मात्र अन्य जातका पाठा पाठी उत्पादन गरिने लुइटेलले बताउनु भयो ।
मासुको परनिर्भरता घटाउन तथा बाख्रापालनको स्रोत केन्द्र निर्माण गर्ने उदेश्यले सुरु भएको बहुमुखी कृषि फर्मले स्थानीय स्तरका किसानलाई समेत बाख्रापालनका लागि सुझाव र सहयोग गरिरहेको प्रबन्धक हुमागाईले बताउनु भयो ।

प्रकाशित मिति: २०२०-०१-१८ , समय : ०८:१६:२५ , ४ वर्ष अगाडि