ईनेपालपत्र संबाददाता , ४२ पटक हेरिएको
काठमाडौं, ८ बैशाख। हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।
मंगलबार बिहान देशका हिमाली भू-भागमा आंशिक बादल लागेको हो । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै, मंगलबार दिउँसो भने देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएको हो। कोशी प्रदेशको पहाडी तथा तराई र बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने भएको छ। बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहने भएको हो।
देशका हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यकाका खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना रहेको महाशाखाले जनाएको हो।
त्यसैगरी मंगलबार राति भने देशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएको छ। पहाडी र तराई भू-भागमा मौसम मूख्यतया सफा रहने भएको हो । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रकाशित मिति: २०२६-०४-२१ , समय : १०:५९:४५ , २ घन्टा अगाडि