प्रशान्त निराैला , १४ पटक हेरिएको
मोरङ, ६ वैशाख । नेपाली काँग्रेस मोरङ क्षेत्र नं। १ ले ‘जरा अभियान २०८३’ सम्पन्न गरेको छ। लेटाङ नगरपालिकामा आयोजित कार्यक्रममा पार्टीकी सहमहामन्त्री डा। डिला संग्रौला, केन्द्रीय सदस्य अमृत अर्याल, कोशी प्रदेश सहमहामन्त्री खड्ग फागो तथा जिल्ला सभापति डिगबहादुर लिम्बू लगायत नेताहरूको उपस्थिति रहेको थियो। क्षेत्रभरिका नेता–कार्यकर्ताको सहभागितामा सम्पन्न कार्यक्रमले काँग्रेसलाई सुधार गरी आगामी दिनमा सबै नेपालीको रोजाइको पार्टी बनाउनुपर्ने निष्कर्ष निकालेको छ।
कार्यक्रममा तल्लो तहबाट आएका सुझावलाई नेतृत्वले बेवास्ता गर्दा पार्टी कमजोर बन्दै गएको धारणा व्यक्त गरिएको थियो। सुझाब संकलन गरेर कार्यान्वयन नगरी बेवास्ता गर्ने प्रवृत्तिका कारण काँग्रेसमा सुधार आउन नसकेको तथा क्रियाशील सदस्यता वितरण वैज्ञानिक ढङ्गले हुन नसकेको विषय पनि उठाइएको थियो। सहभागीहरूले समयअनुसार पार्टीलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए।
सह–महामन्त्री संग्रौलाले काँग्रेसको पुनर्जागरणका लागि ‘जरा अभियान’ सुरु गरिएको बताउँदै वडा तहसम्म संगठन मजबुत बनाउनु यसको मुख्य उद्देश्य रहेको उल्लेख गरिन्। केन्द्रीय सदस्य अर्यालले क्रियाशील सदस्य खारेज नभएको स्पष्ट पार्दै अनलाइन प्रणालीमार्फत अद्यावधिक गर्ने र स्मार्ट कार्ड वितरण गर्ने योजना रहेको जानकारी दिए। केन्द्रीय सदस्य बिश्वनाथ रिजाल ले अभियानले देशव्यापी रुपमा पार्टीको हारको समीक्षा गरी आगामी रणनीति तय गर्ने बताए भने खड्ग फागोले भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिता कायम गर्न नसक्दा काँग्रेस कमजोर भएको टिप्पणी गरे।
कार्यक्रमका सभापति तथा क्षेत्रीय सभापति शंकर राई ले सबैलाई एकजुट भएर प्रजातान्त्रिक समाजवादको रक्षा गर्दै काँग्रेसलाई सुदृढ बनाउन आग्रह गरेका थिए।
प्रकाशित मिति: २०२६-०४-१९ , समय : १८:३१:२० , २ घन्टा अगाडि