चिसाङ खोलामा अवैध माछा मार्नेलाई कडाइ, १५ सदस्यीय समिति गठन

प्रशान्त निराैला , ५  पटक हेरिएको

लेटाङ, ८ चैत । मोरङको लेटाङ क्षेत्रमा रहेको चिसाङ खोलामा पछिल्लो समय विद्युतिय करेन्ट र विष प्रयोग गरी अवैध रूपमा माछा मार्ने गतिविधि बढेपछि त्यसलाई नियन्त्रण गर्न स्थानीय स्तरमै कडा पहल थालिएको छ। जलचर संरक्षण र वातावरणीय सन्तुलन जोगाउने उद्देश्यले स्थानीयवासी सक्रिय बन्दै अवैध क्रियाकलापविरुद्ध अभियान सुरु गरेका हुन्।
अवैध माछा मार्ने कार्य रोक्न कुल बहादुर वाजी र लोक बहादुर पाहिमको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरिएको छ। समितिले चिसाङ खोलासहित आसपासका जलक्षेत्रमा निगरानी बढाउने, सूचना संकलन गर्ने र दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको छ। स्थानीयका अनुसार करेन्ट र विष प्रयोगले माछा मात्र नभई अन्य जलचर र पारिस्थितिक प्रणालीमै गम्भीर असर पारिरहेको छ।
समितिले निषेधित क्षेत्रमा वा अवैध तरिकाले माछा मारेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गराइने चेतावनी दिएको छ। अभियानलाई प्रभावकारी बनाउन लेटाङ–१ स्थित श्री साल बिसौनी सामुदायिक वन उपभोक्ता समूह र पञ्च कन्या सामुदायिक वन उपभोक्ता समूहले समेत सहकार्य गर्ने भएका छन्। खोलाका विभिन्न स्थानमा जनचेतनामूलक होडिङ बोर्ड राख्ने तयारी भइरहेको छ भने यस अभियानले चिसाङ खोलाको जैविक विविधता संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: २०२६-०३-२२ , समय : १७:२३:२९ , १ घन्टा अगाडि