तराई–मधेशमा आज होली पर्व धूमधामका साथ मनाइँदै

निरोज ढकाल , १०  पटक हेरिएको

 

 

काठमाडौं, १९ फागुन। रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइँदै छ। पहाडी तथा हिमाली जिल्लाहरूमा सोमबार नै होली मनाइएपछि एक दिनपछि तराई क्षेत्रमा यो पर्व मनाउने परम्परा रहेको छ।

 

होलीको अवसरमा सरकारले आज तराई–मधेशका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ। पहाडी जिल्लामा भने सोमबार सार्वजनिक बिदा दिइएको थियो।

 

स्थानअनुसार यस पर्वको नामसमेत फरक–फरक रहेको छ। हिमाली र पहाडी भेगमा ‘फागु पूर्णिमा’का रूपमा चिनिने यो पर्व तराई–मधेशमा ‘होली’ भनिन्छ। मैथिली भाषामा यसलाई ‘फगुआ’ वा ‘होरी’ भन्ने गरिन्छ।

 

तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली मनाउने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुरधाम मा भने अन्तरगृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली मनाउने परम्परा छ। पन्ध्र दिने मिथिला परिक्रमामा सहभागी तीर्थयात्रीहरू परिक्रमा सम्पन्न गरी गन्तव्यमा फर्किएपछि मात्र यहाँ होली मनाइने गरिएको हो।

 

यस अवसरमा जनकपुरधाममा होरी गायन प्रतियोगिता तथा ‘महामूर्ख सम्मेलन’ जस्ता सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिन्छ, जसले पर्वलाई अझ विशेष बनाउने गरेको छ।

सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता, सद्भाव र एकताको प्रतीकका रूपमा मनाइँदै आएको छ। हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राईलगायत विविध समुदायबीच भाइचारा र सहिष्णुताको सन्देश फैलाउँदै यो पर्वले समाजमा उत्साह र उमङ्ग थप्ने काम गर्दै आएको छ।

 

असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा मनाइने होली वैदिक यज्ञ परम्परासँग पनि जोडिएको छ।

 

मिथिलाञ्चलमा होलिका अवसरमा आगोमा चीर दहन गरी नयाँ अन्न पोलेर प्रसादका रूपमा खाने चलनसमेत रहिआएको छ।

प्रकाशित मिति: २०२६-०३-०३ , समय : ०७:५५:०३ , ३ घन्टा अगाडि