प्रशान्त निराैला , १०० पटक हेरिएको
काठमान्डौ, १७ माघ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पुनः सैन्य कारबाहीको चेतावनी दिएका छन्। खाडी क्षेत्रमा अमेरिकाले आफ्नो सैन्य उपस्थिति बढाइरहेका बेला ट्रम्पले इरानले दुई सर्त पूरा नगरे सैन्य कारबाही हुन सक्ने संकेत गरेका हुन्। उनका अनुसार पहिलो सर्त इरानले कुनै पनि हालतमा परमाणु हतियार विकास गर्नु नहुने र दोस्रो सर्त देशभित्र भइरहेका प्रदर्शनकारीहरूको हत्या तुरुन्त रोक्नुपर्ने हो।
ट्रम्पले इरानमा हजारौँ मानिस मारिएको आरोप लगाउँदै अहिले धेरै शक्तिशाली अमेरिकी युद्धपोतहरू इरानतर्फ अघि बढिरहेको बताएका छन्। उनले ती युद्धपोत प्रयोग गर्न नपरोस् भन्ने आफ्नो चाहना रहेको उल्लेख गरे पनि इरानले चेतावनी बेवास्ता गरे त्यसको परिणाम गम्भीर हुन सक्ने संकेत दिएका छन्।
ट्रम्पको चेतावनीपछि इरानले कडा प्रतिक्रिया जनाएको छ। इरानका विदेशमन्त्री अब्बास अराग्चीले देशका सशस्त्र सेनाहरू पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताएका छन्। उनले कुनै पनि प्रकारको आक्रमण भएमा इरान तुरुन्तै र पूर्ण शक्तिका साथ जवाफ दिन तयार रहेको स्पष्ट पारे।
अराग्चीले इरानी सेनाका औँला ट्रिगरमै रहेको टिप्पणी गर्दै इरान आफ्नो सार्वभौमसत्ता र सुरक्षामा सम्झौता नगर्ने बताएका छन्। यससँगै अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ र मध्यपूर्वमा सम्भावित सैन्य टकरावको जोखिम बढ्दै गएको विश्लेषकहरूले बताएका छन्।
प्रकाशित मिति: २०२६-०१-३१ , समय : १६:२५:०५ , २ महिना अगाडि