प्रशान्त निराैला , ४ पटक हेरिएको
लेटाङ, १३ माघ । सन्तानले समाजका लागि केही गरिरहेको देख्नु हरेक अभिभावकको गर्वको विषय हुन्छ। तर, सन्तानले समाजसेवाको बाटो रोज्नु पछाडि अभिभावककै संस्कार, सोच र पुण्य कर्म लुकेको हुन्छ। यही यथार्थलाई जीवन्त बनाउँदै लेटाङ नगरपालिका–३ कमलपुरका मनभगी राई र सकलमाया राईले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको योगदान अहिले समाजभरि प्रेरणाको विषय बनेको छ।
आफ्नो व्यक्तिगत खर्चबाट राई दम्पतीले नगरका तीन विद्यालयमा ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुका साथै ९ वटै वडाका विपन्न ५१ परिवारको स्वास्थ्य बिमा गरिदिँदै परोपकारको उच्च उदाहरण प्रस्तुत गरेका छन्। यो सहयोग बर्सेनि बढ्नेछ । स्थानीय स्तरमै सीमित नबसी, नगरव्यापी सोचका साथ गरिएको यो सहयोगलाई स्थानीय बासिन्दाले “साँचो अर्थमा पुण्य कर्म” का रूपमा व्याख्या गरेका छन्।
मंगलबार लेटाङ–३ स्थित कमलपुर सामुदायिक वन उपभोक्ता समूहको प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा उक्त सहयोग औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। शिक्षा क्षेत्रलाई दीर्घकालीन रूपमा सबल बनाउने उद्देश्यले राई परिवारले श्री भगवती आधारभूत विद्यालय (लेटाङ–७), कमलपुर बाल विकास केन्द्र लेटाङ ३ र लेटाङ–३ स्थित कृष्ण प्राथमिक विद्यालय लाई जनही १–१ लाख रुपैयाँका दरले अक्षयकोष प्रदान गरेका हुन्। यस अक्षयकोषबाट प्राप्त हुने ब्याज रकम आर्थिक रूपमा कमजोर तर अध्ययनमा मेहनती विद्यार्थीहरूलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोगमा खर्च गरिने जनाइएको छ।
शिक्षासँगै स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुगोस् भन्ने मानवीय सोचका साथ राई दम्पतीले नगरका ९ वटै वडाका विपन्न परिवारहरूको स्वास्थ्य बिमा समेत गरिदिएका छन्। वडा नम्बर १, ७ र ८ का ७/७ परिवारको पूर्ण स्वास्थ्य बिमा गरिएको छ भने वडा नम्बर २, ३, ४, ५ र ६ का अति विपन्न परिवारलाई प्रति परिवार ५ हजार रुपैयाँका दरले स्वास्थ्य बिमाको रकम उपलब्ध गराइएको हो। यस सहयोगले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुने अवस्था अन्त्यतर्फ महत्वपूर्ण कदम चालिएको स्थानीयको भनाइ छ।
शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा पुर्याएको यो निःस्वार्थ योगदानको उच्च कदर गर्दै लेटाङ नगरपालिका, वडा नम्बर ३ को कार्यालय तथा सम्बन्धित विद्यालयहरूको तर्फबाट मनभगी र सकलमाया राईलाई दोसल्ला ओढाएर कदर पत्रसहित सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि लेटाङ नगरपालिकाका नगरप्रमुख भुपेन्द्र कुमार लावतीले राई परिवारको दानशीलताले नगरपालिकाको ‘समृद्ध नगर’ बनाउने अभियानलाई ठूलो ऊर्जा दिएको बताउनुभयो।
त्यसैगरी विशिष्ट अतिथि पूर्व सांसद घनश्याम खतिवडाले राज्यले गर्नुपर्ने काम व्यक्तिगत तहबाट भए पनि त्यसको प्रभाव झनै गहिरो हुने उल्लेख गर्दै राई दम्पतीको योगदानलाई अनुकरणीय भएको टिप्पणी गर्नुभयो।
कार्यक्रममा नगर उपप्रमुख कृष्णकुमारी निरौला, वडा अध्यक्षहरू, सामुदायिक वनका पदाधिकारी, जनप्रतिनिधि तथा स्थानीय अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उपस्थित सबैले राई परिवारको कार्यलाई “परोपकारको वास्तविक नमुना” भन्दै खुलेर प्रशंसा गरे।
मनभगी र सकलमाया राईको यो योगदान आर्थिक सहयोगमात्र होइन, समाजलाई दिएको एउटा सन्देश पनि हो पुण्य कर्म ठूला भाषणबाट होइन, निःस्वार्थ कामबाट चिनिन्छ। यिनै संस्कार र मूल्यहरूले सन्तानलाई पनि समाजप्रति उत्तरदायी बनाउने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।
प्रकाशित मिति: २०२६-०१-२८ , समय : ०७:५०:१७ , २ घन्टा अगाडि