प्रशान्त निराैला , २३८ पटक हेरिएको
मोरङ, २३ मंसिर । उही ठाउँ, उही चौक, उही धुलो–धुलो बाटो। तर त्यो बाटो छेउमा हरेक दिन एकै किसिमको दैनिकी सुरु हुन्छ, मकै पोलेको सुगन्धसँगै। चिसो बिहानदेखि बेलुकी ढल्कुञ्जेलसम्म, एक युवती त्यही सुगन्धसँगै आफ्नो भविष्य, परिवार र जिम्मेवारी बोकेर उभिएकी हुन्छिन्। उनी हुन् सुष्मिता याक्खा अहिले १९ वर्षकी, तर अनुभवले उनले धेरै वर्षका दुख कष्ट बोकिसकेकी।
सुष्मिताले पञ्चायत मावि पथरीशनिश्चरे बाट कानुन विषयमा १२ कक्षा उत्तीर्ण गरेकी छन्। पढाइको चम्किलो सपना छ, एउटा पहिचान बनाउने आकांक्षा छ, तर घरको आर्थिक अवस्थाले उनलाई पुस्तकभन्दा पहिला आगो धुवाँ र मकैसँगै उभिन बाध्य बनाएको छ।
यो उनको मनमा बारम्बार उठ्ने प्रश्न हो। पढाइ छोडेर नबसुँ, तर घर पनि चलाउनैपर्छ दुवै जिम्मेवारी एकैसाथ बोकेको उनको मन कहिले काहीँ भारी हुन्छ ।
सुष्मिता घरकी जेठी छोरी। उनलाई परिवारको आधार नबनेर विकल्पै छैन। आमाले पनि कहिल्यै काम छोडेनन्, तर आमाको मात्र हातले पाँच जनाको परिवार धानिनसक्दैन। दुई बहिनी एसइईको तयारी गर्दै छन्, भाइ कक्षा ३ मा पढ्छ। ती सबैको पढाइ, कपडा, किताब, साना–ठूला झन्झट सबैमा सुष्मिताको भूमिका छ।
सबैभन्दा ठूलो चुनौती भनेकै बुबाको स्वास्थ्य अवस्था। लामो समयदेखि बिरामी परेका बुबा बाहिर काम गर्न सक्दैनन्। कहिले औषधि किन्नुपर्छ, कहिले अस्पताल लैजानुपर्छ। खर्चको बोझ दिनदिनै बढिरहे पनि त्यो बोझ बोकेर हिँड्ने काँध भने एउटै सुष्मिता नै।
“७ वर्ष भयो, यो पेशा छोडेको छैन,” सुष्मिता भन्छिन्। मकै पोलेर दैनिक खर्च जोहो गर्न थालेको दिन अझै पनि उनलाई चर्को गरी याद छ। सुरुमा लाज लाग्थ्यो, हात पोलिन्थ्यो, ग्राहक कम हुन्थे। तर अहिले उनी दैनिकी र दुवै हातको तालमा मकै बेच्छिन्।
मकै किन्दा उनले पहिले “बचतबाट केही झिकेर” पैसा मिलाउँछिन्। दैनिक केही रकम रुपैयाँ भए पनि बचत गरिरहने उनको बानी छ। “बचत भए भोलिको दिन सुरक्षित हुन्छ,” उनी भन्छिन्।
यिनै कमाइले उनले घरधन्दा, बहिनी–भाइको पढाइ, औषधि उपचार सबै सम्हालिरहेकी छन्। मकै अघि उनी निगुरु बेचेर खर्च चलाउँथिन्। मौसम बदलिँदै जाँदा व्यापार पनि बदलिन्छ, तर जिम्मेवारी कहिल्यै बदलिँदैन।
पढाइ जारी राख्न सके कानुन क्षेत्रमा काम गर्ने सपनाले उनीलाई डोर्याइरहेको छ। “म पनि पढेर केही बन्न सक्छु, बस् मौका चाहिन्छ,” उनी अक्सर भन्छिन्। कसैले सहयोग गरिदिए, केही विद्यार्थी सहायता कार्यक्रमले हात समातिदिए, त्यसपछि उनी पुनः कलेजको ढोका ढक्ढक्याउन चाहन्छिन्।
सुष्मिता जस्ता युवाहरूका लागि देशमा धेरै अवसर नखुले पनि, सुष्मिताको इच्छाशक्ति भने अटल छ। उनको जित यही हो कठिनाईका बीच पनि हारेनन्, टुटेनन्। सुष्मिताले गुनासो कम गर्छिन्, काम बढी गर्छिन्। उनी भन्छिन “घरको लागि जो गर्नुपर्छ, म गर्छु। तर एक दिन म पनि पढेर केही गरिदिन सक्छु।”
उनको संघर्ष केवल व्यक्तिगत कथा होइन यो हजारौँ नेपाली युवतीहरूको प्रतिनिधि कथा हो। जहाँ जिम्मेवारीलाई बोझ होइन, भविष्य निर्माणको आधार मानिन्छ।
सुष्मिताको कथा हामीलाई सम्झाउँछ परिस्थितिले कसैलाई रोक्दैन; रोक्छ केवल हार मान्ने सोचले।
प्रकाशित मिति: २०२५-१२-०९ , समय : १७:३९:१७ , २ दिन अगाडि


