बुद्ध जयन्तीको अवसरमा अन्तरधार्मिक शान्ति पार्क आज बेलुका

प्रशान्त निराैला , ८  पटक हेरिएको

 

 

लेटाङ, १८ वैशाख । मोरङको लेटाङ नगरपालिका–१ राजारानीमा निर्माण सम्पन्न भएको अन्तरधार्मिक शान्ति पार्क आज साँझ औपचारिक रूपमा उद्घाटन हुँदैछ । २५७०औँ बुद्ध जयन्तीको अवसर पारेर आयोजना गरिएको उद्घाटन समारोह साँझ ५ बजे हुने लेटाङ नगरपालिकाले जनाएको छ ।

 

नगर गौरवको योजनाका रूपमा निर्माण गरिएको पार्क धार्मिक सहिष्णुता, सद्भाव र शान्तिको प्रतीकका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ । नगरपालिकाले सम्पूर्ण नगरवासी आमा, बुवा, दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा उपस्थित भई उद्घाटन समारोहको शोभा बढाइदिन आग्रह गरेको छ । पार्कमा हिन्दु, बौद्ध, इसाई, इस्लाम र किरात धर्मका प्रतीकात्मक संरचना निर्माण गरिएको छ । विभिन्न धर्मका अनुयायीलाई एउटै स्थानमा जोड्दै आपसी सद्भाव कायम गर्ने उद्देश्यले पार्क निर्माण गरिएको नगर प्रमुख भूपेन्द्रकुमार लावतीले बताएका छन् । राजारानी क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्वलाई थप उचाइमा पुर्‍याउने विश्वास गरिएको यस पार्कले लेटाङलाई नयाँ धार्मिक पर्यटन गन्तव्यका रूपमा परिचित गराउने अपेक्षा गरिएको छ ।

 

उद्घाटन समारोहमा विभिन्न धार्मिक अगुवा, जनप्रतिनिधि, स्थानीयवासी तथा बुद्ध धर्मावलम्बीहरूको उल्लेख्य सहभागिता रहने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०५-०१ , समय : ०५:४१:४२ , १ घन्टा अगाडि