ईनेपालपत्र संबाददाता , ११७ पटक हेरिएको

काठमाडौं ५ अशाेज।नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक लगातार पहिरो खसिरहेकाले सडक सञ्चालन कहिले खुल्ने भन्ने अनिश्चित बनेको छ।
डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेका अनुसार करिब ३६ घण्टादेखि सडक अवरुद्ध छ र पहिरो पन्छाउने काममा कठिनाइ आइरहेको छ। आज बिहानैदेखि मेसिन प्रयोग गरेर काम सुरु भए पनि माथिबाट लगातार पहिरो खसिरहेकाले प्रयास अवरुद्ध भइरहेको उनले बताए।
सडक खुलाउने कार्यमा मुग्लिनतर्फ तीनवटा र नारायणगढतर्फ दुईवटा मेसिन परिचालन गरिएको छ। तर रातको समयमा जोखिमका कारण शनिबार साँझदेखि आइतबार बिहानसम्म काम रोकिएको थियो।
करिब ७० मिटर उचाइबाट खसेको पहिरोले १६ मिटर उचाइ र १० मिटर चौडाइमा फैलिँदै १६० मिटर सडक ढाकेको जनाइएको छ। सडक बन्द भएपछि सयौँ यात्रु र सवारीसाधन बाटोमै अलपत्र परेका छन्।
दैनिक १० हजारभन्दा बढी सवारी चल्ने यो राजमार्ग बन्द भएपछि सडक डिभिजन भरतपुरले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। नौबिसे–दामन–हेटौँडा मार्ग वा मुग्लिन–भिमाद–डेढगाउँ–गैँडाकोट (कालीगण्डकी करिडोर) प्रयोग गर्न सल्लाह दिइएको छ।
प्रकाशित मिति: २०२५-०९-२१ , समय : १०:२०:०५ , ३ हप्ता अगाडि