लेटाङ रन प्रतियोगिताका पुरस्कार सार्वजनिक, सौन्दर्यकरणमा सहयोग गरिने योजना

प्रशान्त निरौला , २२२  पटक हेरिएको

लेटाङ, १० मंसिर । लेटाङ रंगशालामा २०८१ साल माघ १ गतेदेखि सुरु हुने लेटाङ रन 10k प्रतियोगिताका पुरस्कार तथा अन्य विवरण आयोजक कमलपुर टोल विकास संस्थाले सार्वजनिक गरेको छ।

संस्थाका अध्यक्ष भीमबहादुर राई किरणका अनुसार, खेलमा ४० वर्ष मुनिका सहभागीहरूका लागि पहिलो स्थानमा ३५ हजार, दोस्रो स्थानमा २० हजार, र तेस्रो स्थानमा १० हजार रुपैयाँ पुरस्कार राखिएको छ। त्यस्तै, ४० वर्षभन्दा माथिका भेटरान प्रतिस्पर्धीका लागि पहिलो स्थानमा ७ हजार, दोस्रो स्थानमा ५ हजार, र तेस्रो स्थानमा ४ हजार रुपैयाँ पुरस्कार तोकिएको छ।

सहभागीहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष २० जनालाई (१० पुरुष र १० महिला) सान्त्वना पुरस्कार प्रदान गरिने जानकारी पनि दिइएको छ।

कार्यक्रममा सहभागी हुनका लागि प्रवेश शुल्क रु. २५० तोकिएको छ। सहभागीहरूले निशुल्क एक थान टिसर्ट समेत पाउनेछन्। प्रतियोगिताबाट संकलित रकमले लेटाङ नगरको सौन्दर्यकरणमा खर्च गरिने योजना आयोजकले सार्वजनिक गरेको छ।

यस प्रतियोगिताका मुख्य प्रायोजक, लेटाङ-३ कमलपुर निवासी र हाल यूकेमा बसोबास गर्ने सन्तोष राई, समाजसेवाको क्षेत्रमा परिचित युवा हुन्। सन्तोष राईले खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्दै नगरको विकास र सौन्दर्यकरणमा योगदान पुर्‍याउने आफ्नो प्रतिबद्धता जनाएका छन्।

लेटाङ रन प्रतियोगिता खेलकुद क्षेत्रको मात्र नभई, नगरको सौन्दर्यकरण र समाजसेवा क्षेत्रको उदाहरणीय पहल हुने अपेक्षा गरिएको छ। सन्तोष राईको योगदानले यस कार्यक्रमलाई थप उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

कार्यक्रम आयोजकले सम्पूर्ण खेलप्रेमीहरूलाई माघ १ गते रंगशालामा उपस्थिति भई प्रतियोगितालाई सफल बनाउन आह्वान गरेको छ।

 

प्रकाशित मिति: २०२४-११-२५ , समय : १८:०७:२० , १ वर्ष अगाडि