चिकित्सकविरुद्ध उजुरी बढ्दै , अधिकांश उजुरी लापरबाहीका

Enepal Patra Pvt. Ltd. , ३७८  पटक हेरिएको

काठमाडौं २४ पूस । स्वास्थ्य उपचारमा लापरबाही भएको भन्दै पछिल्लो समय चिकित्सकविरुद्ध उजुरी बढ्दै गएको छ । नेपाल मेडिकल काउन्सिलको पछिल्लो तथ्यांकअनुसार गत असारदेखि हालसम्म एक सय उजुरी परेका छन् । अधिकांश उजुरी चिकित्सकको लापरबाहीसँग सम्बन्धित छन् । मुलुकभर २६ हजार ३ सय ४६ दर्तावाल चिकित्सक छन् । मुख्यतः चिकित्सकको लापरबाही, दुव्र्यवहार, ठगी, अयोग्य चिकित्सकले उपचार गरेकोलगायत उजुरी आउने गरेको मेडिकल काउन्सिलले जनाएको छ ।

यस्तै, व्यक्तिगत रिसिइबी, चिकित्सकले अन्यत्र रिफर गर्न बाध्य पारेकोलगायतका उजुरी पनि दर्ता हुने गरेका छन् । काउन्सिलका रजिस्ट्रार डा। कृष्णप्रसाद अधिकारीले उजुरीको तथ्यांक एकीकृत गर्ने कार्य भइरहेको बताए । उनले भने, ‘इथिकल कमिटीले उजुरीमाथि अध्ययन गर्छ । कति उजुरी परे, कति टुगिंए, कति अनुसन्धानका क्रममा छन् भनेर तथ्यांक संकलन गर्ने काम भइरहेको छ ।’

मेडिकल काउन्सिलमा इथिकल कमिटी छ । व्यक्तिगत, इमेल, नाम परिवर्तन गरेर र कसैले आफ्नै नाममा उजुरी दर्ता गराउन सक्ने व्यवस्था मिलाइएको छ । अपराधसंहिता २०७४ मा लापरबाही वा हेलचेक्य्राइँ गरी उपचार गर्न नहुने उल्लेख छ । व्यक्तिले कसैको उपचार गर्दा पर्याप्त होसियारी वा सावधानी नअपनाई लापरबाही वा हेलचेक्र्याइँ गरी उपचार गर्न, औषधि खान दिन वा खान सिफारिस गर्न वा चिरफार गर्न नहुने संहितामा भनिएको छ । लापरबाहीपूर्वक कसैको ज्यान गएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिमाना र हेलचेक्र्याइँ गरेका कारणबाट मरेको वा अंगभंग भएकामा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिमाना हुने उल्लेख छ ।

यसैबीच, चिकित्सकले कुनै औषधि लेखेबापत थप सुविधा, कमिसन वा बोनस लिने गरेको पाइएको हुँदा यस्तो कार्य नगर्न नेपाल मेडिकल काउन्सिलले सबैमा आग्रह गरेको छ । यस्ता कार्य आचारसंहिताविपरीत भएकाले सचेत रहन पनि काउन्सिलले आग्रह गरेको छ । काउन्सिलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आचारसंहिताविपरीत कार्य नगर्न वा नगराउन दर्तावाल चिकित्सकलाई अनुरोध गरिन्छ । स्वास्थ्य क्षेत्रमा गैरव्यावसायिक आचरण वृद्धि हुँदै गएको तथा बिरामी प्रेषण गर्दा आर्थिक लाभ लिने–दिने विषय बाहिरिएका छन् ।’
(राजधानी दैनिकबाट)

प्रकाशित मिति: २०२०-०१-०९ , समय : ११:२५:०३ , ४ वर्ष अगाडि