enepalpatra , १७४ पटक हेरिएको

प्रशान्त निराैला
लेटाङ १४ असार । लेटाङ नगरपालिका ८ स्थित जाँते बजारमा रहेको नेपाल टेलिकमको टावरले काम नगर्दा हजारौं सेवा ग्राही मारमा परेका छन्। बिधुत जाने वितिकै टेलिकमको नेटवर्क जाने कारणले त्यहाँका मानिसहरू हैरान भएका हुन्।
स्थानीय बासिन्दाहरूका अनुसार, बिधुत आपूर्ति बन्द हुने बित्तिकै टेलिकमको सेवा पनि अवरुद्ध हुने गर्दछ, जसले गर्दा आपतकालीन अवस्थामा संचार गर्न समेत समस्या हुने गरेको छ। जाँते बजारका व्यापारिक गतिविधिहरूमा पनि यसले प्रतिकूल प्रभाव पारिरहेको छ। बैंकिङ सेवा, अनलाइन ट्रान्जेक्सन, र डिजिटल संचारका सबै माध्यमहरू ठप्प हुने गरेका छन्।
स्थानिय व्यापारी मनोज बिमली भन्छन्, “हामीले बारम्बार टेलिकमलाई यस समस्याबारे जानकारी गराएका छौं, तर कुनै सुधार आएको छैन। यसले हाम्रो व्यापारमा ठूलो नोक्सान पुर्याएको छ।”
शिक्षक समेत रहेका अर्का स्थानीय बासिन्दा तुलसी तिम्सनाले भने “हामीलाई टेलिकमको सेवा निरन्तर चाहिन्छ। बिधुत गएपछि टेलिकमको नेटवर्क पनि बन्द हुनु भनेको हामी सबैका लागि ठुलो समस्या हो।”
नेपाल टेलिकमका स्थानीय प्रतिनिधिहरूले भने, “हामीले यस समस्याबारे जानकारी पाएका छौं र समाधानका लागि पहल गर्दैछौं। बिधुत आपूर्तिको समस्या समाधान गर्न सम्बन्धित निकायसँग समन्वय गरिरहेका छौं।”
तर, समस्या समाधानको कुनै ठोस मिति नतोकिएका कारण स्थानीयहरू अझै पनि चिन्तित छन्। यसले गर्दा टेलिकमको सेवाप्रति जनतामा असन्तुष्टि बढेको छ। समस्या चाँडो समाधान होस् भन्ने अपेक्षामा रहेका स्थानीयहरूले नेपाल टेलिकमसँग शीघ्र कदम चाल्न आग्रह गरेका छन्।
प्रकाशित मिति: २०२४-०६-२८ , समय : १५:२३:३३ , १ वर्ष अगाडि